राजनीति

पार्वत गुरुङ– केन्द्रीय सदस्यको बलिया उम्मेदवार

काठमाडौँ/नेकपा एमाले भित्रका कुशल व्यवस्थापक मानिएका पार्वत गुरुङले पार्टीको ११ औ केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएका छन् । उनी पार्टीको चितवनमा भएको १० औ महाधिवेशनमा केन्द्रीय पोलिटब्युरो सदस्य चुनिएर दोलखा जिल्ला इन्चार्जको रुपमा सक्रिय थिए ।

दोलखाबाट दुई पटक संविधान सभा सदस्यमा निर्वाचित गुरुङले २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई ३० हजार मतान्तरले पराजित गरेर देशभरमा सर्वाधिक मतान्तरले विजयी उम्मेदवार बन्न सफल भए । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सूचना तथा सञ्चार प्रविधि मन्त्री बनेका गुरुङ विचार र अडानमा प्रष्ट भएका थोरै नेताहरु मध्यका मानिन्छन् ।

सुरुमा महिला बालबालिका मन्त्री बनेका गुरुङ त्यस लगतै सूचना तथा सञ्चार मन्त्री बनेर सरकारका प्रवक्ता समेत भएका थिए । मन्त्री भएको बेला उनले दोलखाका धेरैलाई बिभिन्न अवसर दिएका थिए ।

बुबा मक्करध्वज गुरुङ गाउँको प्रधानपञ्च भएपनि राजनीतिक रुपमा बुबाको विपक्षमा उभिएर कम्युनिष्ट राजनीतिमा सक्रिय बनेका गुरुङ २०५३ सालमा नेकपा एमाले दोलखा जिल्ला कमिटी सदस्य बनेका थिए । २०६७ सालमा नेकपा एमाले दोलखा जिल्ला कमिटीको अध्यक्षमा निर्वाचित गुरुङले नेपाली कांग्रेसका तत्कालिन केन्द्रीय सभापति शुसील कोईरालालाई पार्टी कार्यालयमा लगेर भव्य स्वागत गरी राजनीतिक संस्कार र सौहाद्रताको उदाहरण दिएका थिए ।

पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको निकट रहेर काम गर्दै आएका गुरुङले सचिव पदमा उम्मेदवार बन्ने चाहना राखेको भएपनि संस्थापन पक्षबाट केन्द्रीय सदस्यको लिष्टमा परेपछि सोहि पदमा उम्मेदवारी दिएका हुन् । दोलखा जिल्लामा राम्रो पकट बनाएका गुरुङलाई विजयी गराउन देशभरका युवाहरुले सक्रियता पूर्वक प्रचार गरिरहेका छन् ।

सम्बन्धित समाचार