दोलखा/नेपाल लोकतान्त्रिक थामी संघको प्रथम राष्ट्रिय अधिवेशन दोलखा सदरमुकाम चरिकोटमा हुने भएको छ । दोलखा थामी समुदायको उद्गम थलो समेत हो ।
मंसिर १९ गतेबाट सुरु हुने संघको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको संघले जनाएको छ । नेपाल लोकतान्त्रिक थामी संघ नेपाल आदिवासी जनजाती महासंघको सक्रिय घटक संगठनको रुपमा रहेको छ ।
पार्टीको केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने राष्ट्रिय अधिवेशनको तयारीको लागि एमाले दोलखाका इन्चार्ज पार्वत गुरुङको अगुवाई तथा एमाले दोलखा जिल्ला कमिटी र दोलखा– काठमाडौँ सम्पर्क कमिटीको संयोजनमा केन्द्रीय कार्यालय च्यासलमा अगुवा नेता– कार्यकर्ता भेला सम्पन्न भएको छ ।
भेलामा एमाले केन्द्रीय सदस्य एवम् दोलखा इन्चार्ज पार्वत गुरुङले अल्पसंख्यक थामी समुदायलाई मूल प्रवाहीकरण गर्ने लगायतका कामको अगुवाई एमालेलेनै गर्दै आएको बताए । उनले अध्यक्ष ओलीले उद्घाटन गर्ने थामी संघको प्रथम राष्ट्रिय अधिवेशनले पार्टीलाई पूर्नजागृत गर्दै निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।
तयारी भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य आनन्द प्रसाद पोखरेल, रचना खड्का, विनोद पाण्डे, श्याम वस्नेत, डबल पाण्डे, उर्मिला सुनुवार, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री भरत केसी, नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पा, पूर्व प्रदेश मन्त्री सरस्वती वस्नेत, नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य शान्ती पाख्रीन, डिल्ली बराईली, बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष सरोज मोहन लामा, एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, दोलखा– काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष उमेश खड्का लगायतको सहभागिता रहेको थियो ।

भेलाले स्थानीय तह र जनप्रतिनिधिहरुको संयोजकको लागि बागमति प्रदेशका भौतिक पूर्वाधार मन्त्री भरत केसी, झाँकी प्रर्दशनको तयारीका लागि एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, थामी समुदायको सांस्कृतिक झाँकी प्रर्दशनको लागि बागमती प्रदेशका सांसद ठूलो थामी र विगु गाउँपालिकाका उपाध्यक्ष देविका थामी, काठमाडौँको तयारीको लागि बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष सरोज मोहन लामा र दोलखा– काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष उमेश खड्का, जनजाती समुदायको समग्र परिचालनको लागि जंग गुरुङ र थिर बहादुर मोक्तान, सुरक्षा व्यवस्था र जनवर्गीय संगठन संयोजनको लागि नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनका अध्यक्ष विनोद पाण्डे र सांगितिक कार्यक्रमको संयोजनको लागि अमृत खातीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
थामी जातीको जनसंख्या देशभर ३२ हजार ७ सय ४३ रहेकोमा दोलखा जिल्लामा मात्र १८ हजार १ सय ४१ रहेको थामी संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्