कला / साहित्यमनोरन्जन

साझा चौतारी सिजन–२ का विजेतालाई पुरस्कार

काठमाडौं/ साझा चौतारीद्वारा टिकटक लाइभमार्फत सञ्चालन गरिएको दोस्रो सिजनको गायन तथा नृत्य खुल्ला प्रतिस्पर्धाका विजेताहरूलाई पुरस्कार वितरण तथा विशेष प्रस्तुति कार्यक्रम राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विजेताहरूले आफ्नो उत्कृष्ट प्रस्तुति समेत प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठित सङ्गीतकार शम्भूजीत बास्कोटा रहनुभएको थियो भने विशिष्ट अतिथिहरूमा रवी प्राञ्जल, करुण थापा, डा. रेणुका साेलु तथा चर्चित सङ्गीतकार महेश खड्का लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सञ्चारकर्मी, लेखक, कथावाचक तथा कुशल पत्रकार दीपक समीरले शान्ति निहारिकाको उपन्यासको केही अंश वाचन गर्नुभएको थियो। साथै उक्त उपन्यास पूर्ण रूपमा युट्युबमार्फत सुन्न सकिने गरी सार्वजनिक गरिएको जानकारी दिइयो।

प्रतियोगिताको गायनतर्फ प्रथम मिलन खपाङ्गी, द्वितीय भगवती खाती, तृतीय टीका मगर र सान्त्वना अतिग राई घोषित भएका थिए। उनीहरूलाई क्रमशः एक लाख ५० हजार, ८० हजार, ६० हजार र २० नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसैगरी नृत्यतर्फ प्रथम ईशु गुरुङ, द्वितीय डोल्मा शेर्पा, तृतीय अप्सना गुरुङ तथा सान्त्वना केशव दिवाली र मनिष राई घोषित भएका थिए। उनीहरूलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

विजेताहरूले स्टेजमा आकर्षक सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए। साझा चौतारीका अनुसार कार्यक्रम विशुद्ध सामाजिक उद्देश्यले सञ्चालन गरिएको हो। प्रवासमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको मातृभूमिप्रतिको माया अभिव्यक्त गर्दै भाषा, साहित्य, संगीत, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताइएको छ। साथै विश्वभर छरिएका कलाकारहरूको प्रतिभा प्रस्फुटन गर्ने साझा थलोका रूपमा साझा चौतारी स्थापित हुँदै आएको उल्लेख गरिएको छ।

विगत वर्ष पनि यही प्रेक्षालयमा असार २१ गते सिजन–१ को पुरस्कार वितरण समारोह सफलतापूर्वक सम्पन्न गरिएको आयोजकले जनाएको छ। संस्थाका परिकल्पनाकार तथा अध्यक्ष श्री प्रसाद श्रेष्ठ हाल कोरियामा रहे पनि डिजिटल माध्यममार्फत कार्यक्रमसँग निरन्तर जोडिइरहनुभएको जानकारी दिइएको छ। कार्यक्रम सफल बनाउन सहयोग तथा प्रायोजन गर्ने विभिन्न व्यक्तित्व तथा संस्थाहरूप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन योगदान दिने सम्पूर्ण कलाकार, साहित्यप्रेमी तथा संगीतप्रेमी दर्शकहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार