धर्म/संस्कृतिसमाचार

जेष्ठ नागरिक स्वर्गिय रनधाताको अस्तु चर्नावतीमा विर्सजन

दोलखा/नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री आनन्द प्रसाद पोखरेल तथा अभियन्ता शुभराज पोखरेलले शुक्रवार आफ्नो स्वर्गिय माता रनधाता पोखरेलको अस्तु पवित्र धार्मिक स्थल उत्तरगया त्रिवेणी– चर्नावती नदीमा विर्सजन गर्नुभएको छ । श्रीमतभागवत महापुराणमा बर्णन भएको यो नदी (त्रिवेणी– चर्नावती धाम) भारतको गया– कासी भन्दा पनि पवित्र मानिन्छ ।

पुर्व मन्त्री आनन्द प्रसाद पोखरेल तथा अभियन्ता शुभराज पोखरेलको माता रनधाता पोखरेलको निधन ९१ बर्षको उमेरमा २०८३ कार्तिक १९ गते भएको थियो ।

पूर्वमन्त्री पोखरेलले उल्लेख गर्नुभए अनुसार उहाँको हजुरबुबा आफ्नो पिताको श्राद्धको लागि कासी पुग्नुहुदा त्यहाँका पाण्डा (पण्डित) ले पूर्व– २ नम्बर दोलखामा रहेको त्रिवेणी– चर्नावती धाम कासी भन्दा पवित्र भएकोले (कासीको पनि सीर) पहिले त्रिवेणी– चर्नावती धाममा श्राद्ध गरेरमात्र कासीमा आउनु भनि फर्काएका थिए । त्यसपछि उहाँको हजुरबुबा दोलखा फर्किएर त्रिवेणी– चर्नावती नदीमा आफ्नो बुबाको श्राद्ध गरेर पुनः कासीमा गई त्यहाँ बुबाको श्राद्ध गर्नु भएको थियो ।

त्यसपछि हजुरबुबाले हरेक बर्ष त्रिवेणी– चर्नावती धाममा आई आफ्नो बुबाको श्राद्ध गरेको र आफुलाई हजुर बुबाले त्रिवेणी– चर्नावती धामको महिमा बर्णन गर्नुभएकोले आफुले पनि आफ्नो आमाको अस्तु त्रिवेणी– चर्नावती धाममा ल्याएर बिर्सजन गरेको पूर्व मन्त्री पोखरेलले बताउनु भयो ।

त्रिवेणी– चर्नावती धाम तामाकोशी, चरङ्गे (चर्नावती) र गोपीखोला (गोपिनी गङ्गा) को संगम स्थल हो । चरङ्गे (चर्नावती) खोला उत्तरतर्फ बगेकोले यो स्थानलाई उत्तरवाहिनी (उत्तरगया) पनि भनिन्छ ।

चर्नावती धाममा पुर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलकै पहलमा जेष्ठ नागरिक भवन निर्माण गरिएको छ । यो भवन निर्माणको लागि पोखरेल पर्यटन मन्त्री भएकै बेला पर्यटन मन्त्रालयबाट बजेट हालिएको थियो । उक्त बजेटमा बिभिन्न सामाजिक तथा राजनीतिक व्यक्ति र दोलखाको नौवटै पालिकाले समेत थप सहयोग गरेको थियो । अहिले जेष्ठ नागरिक भवनमा १३ जना जेष्ठ नागरिकहरु बस्दै आउनु भएको छ ।

सम्बन्धित समाचार