कृषि र सहकारीमुख्य समाचारराजनीति

जलवायु परिर्वतनको प्रभावः दोलखाको चौरी गाईमा बाँझोपन बढ्यो

दोलखा/जलवायु परिर्वतका कारण दोलखाका खर्कहरुमा पोषिलो घाँस घट्दै गएपछि चौरी गाईमा बाँझोपनको समस्या देखिएको छ । प्रारम्भीक अध्यनले पोषिलो घाँस घट्दै गएकोले चौरीमा बाँझोपनको समस्या देखिएको पशु विकास कार्यालय दोलखाका निर्देशक डा. टेकराज पौडेल बताउछन् ।

दोलखा जिल्लामा तीन हजार भन्दा बढी चौरी गाई र दुई सय बढी याक– नाक रहेको तथ्याङ्क पालिकाहरु बाट प्राप्त भएको पशु विकास कार्यालय दोलखाका पशु विकास अधिकृत डा. मदन भण्डारीले बताए । चौरी किसानहरुले मुख्य रुपमा चौरी गाईको बिक्रि वितरणको अलवा घिउ, दुध, छुर्पी, चिज आदी उत्पादन गरेर आम्दिानी गर्दै आएका छन् ।

पछिल्लो समय चौरी गाईमा बाँझोपन देखिएपछि दोलखाका चौरी पालक किसानहरु चिन्तित् देखिएका छन् । दोलखाको विगु गाउँपालिकामा पर्ने चिलंखाका स्थानीय चौरीपालक जनक बहादुर जिसी चौरी गाईमा बाँझोपन देखिएर दुध उत्पादन घट्दै गएपछि चिन्ता थपिएको बताउछन् । सबैकुरा छोडेर चौरी पालन व्यवसायमा लागियो, जनक भन्छन्– अहिले चौरीगाईमा बाँझोपन देखिएर दुध उत्पादन घट्दै गएपछि ठूलै आर्थिक नोक्सानी भएको छ ।

स्थानीय ङेमा शेर्पासंग १६ वटा चौरी किनेर गोठ बनाएका जनक चौरीमा देखिएको बाँझोपनले आम्दानी घट्दै गएपछि परिवार पाल्नै समस्था भएको बताउछन् । जनकका दुई छोराले पनि छुट्टै चौरीगोठ बनाएका छन् ।

चौरी गाईको लागि खस्रु, गुराँस, चुत्रो, उत्तीस, हिमाली सल्ला, बासमती, लिसो, ठिगे, निगालो, एरिम, हलहले, बन्सो, छिरु जस्ता घाँसहरु उपयोगी मानिन्छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाईने यी घाँसहरु जलवायु परिर्वतनले तापक्रम र बर्षातमा हुने फेरबदलका कारण घट्दै गएपछि चौरी गाईले प्राप्त गर्ने पोषणमा समस्या भएको र त्यसैले बाँझोपन बढ्दै गएको प्रारम्भीक अध्यनले देखाएको पशु विकास कार्यालय दोलखाका निर्देशक डा.पौडेलको भनाई छ ।

दोलाखमा रहेका चौरी गाईहरुमा पहिलो पटक जुकाको प्रकोप समेत देखिएको पशु विकास कार्यालय दोलखाले जनाएको छ । जलवायु परिर्वतनकै कारण चौरीको चरन क्षेत्र उच्च हिमाली भेगबाट तल– तल सर्दै गएपछि गाई– भैसी र भेडा– बाख्रासंग संगै बस्ने अवस्था बनेको र यसले चौरी गाईमा समेत जुकाको प्रकोप देखिएको डा. पौडेलको भनाई छ । चौरीमा देखिएको जुकाको कारण पनि बाँझोपन बढेको हुनसक्ने डा. पौडेलको अनुमान छ ।

दोलखामा झण्डै दुई सय चौरी गोठ रहेका छन् । दोलखाको विगु र गौरीशङ्कर गाउँपालिका तथा जिरी नगरपालिकाको ४२ वटा गोठमा गरिएको प्रारम्भीक अध्यनमा हरेक चौरी गोठमा दुई देखी चारवटासम्म चौरीमा बाँझोपनको समस्या देखिएको र यो निक्कै डरलाग्दो समस्या भएको पशु विकास कार्यालय दोलखाका पशु विकास अधिकृत डा.भण्डारी बताउछन् । चौरी गाईमा देखिएको बाँझोपनको समस्याबारे थप अध्यन गर्न कृषि अनुसन्धान परिषद लगायत सम्बन्धित निकायमा अनुरोध गरिने उनको भनाई छ ।

सम्बन्धित समाचार