बागमतीराजनितिसमाचार

गुट अन्त्यको लागि मेरो उम्मेदवारी– विदुर शर्मा

दोलखा/नेकपा एमाले दोलखाको १० औ जिल्ला अधिवेशनले चयन गर्ने नयाँ नेतृत्वको लागि गुटगत कसरत भै रहेको बेला युवा नेता विदुर शर्माले गुट अन्त्यको नारा सहित उपसचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
दोलखा एमालेलाई नेतागत नभै नीतिगत रुपमा अगाडि बढाउन र केन्द्रले घोषणा गरेको मिसन– ८४ लाई सफल बनाउन गुटको अन्त्य आवश्यक रहेको महशुस गर्दै मैले नेताको आर्शिवादमा भन्दा पनि संगठित सहकर्मीको साथ र हौसलाको बलमा उपसचिवमा उम्मेदवार दिने तयारी गरेको छु– शर्माले भने ।
अनेरास्ववियुमा आवद्ध भएर राजनीति सुरु गरेका दोलखा मेलुङ गाँउपालिका वडा नम्बर– ३ घ्याङसुकाठोकरका विदुर शर्माले २०५२ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेका हुन् ।
२०७४ सालमा एमालेको तर्फबाट जिल्ला समन्वय समिति दोलखाको सदस्य रहेका शर्मा नेकपा एमाले दोलाखको सातौ र आठौ जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए । हाल उनी एमालेको भातृ संगठन खेलकुद महासंघको केन्द्रीय कोषाध्यक्ष रहेका छन् ।
म सामाजिक अभियान र जिल्लाको समग्र विकासको अभियानमा सक्रिय छु एमालेका युवा नेता शर्माले भने– मेरो अभियानलाई सफल बनाउन राजनीतिक भूमिका अपरिहार्य रहेकोले पार्टीको १० औ जिल्ला अधिवेशनमा उपसचिव पदमा उम्मेदवारी दिन लागेको हो । शर्माले आफ्नो जीतले राजनीतिमा मौलाएको गुटगत परिपाटीको अन्त्यको लागि महत्वपूर्ण सन्देश दिने दावि समेत गरे ।


स्वर्गिय माता– पिता हरिशंकर उपाध्याय र लक्ष्मी कुमारी शर्माको नाममा जिल्लाको बिभिन्न विद्यालयहरुमा सहयोग गर्दै आएका शर्माले कोरोना महामारीले आक्रान्त दोलखालीलाई समेत सहयोग गरेका थिए । कोरोनाको समयमा सयौ दोलखालीलाई खाद्यान्न लगायतका सहयोग गरेका शर्माले भारत तथा काठमाडौँ लगायत देशका बिभिन्न ठाँउबाट दोलखा घर फर्काउन हजारौलाई सहयोग गरेका थिए ।
४५ बर्षका सफल युवा व्यवसायी एमाले नेता शर्माले आफुलाई मतदान गरी सामाजिक अभियानमा संस्थागत सहयोगको अवसर दिन एमाले दोलखाको १० औ जिल्ला अधिवेशनका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार