गण्डकीबागमतीमधेशसमाचारसुचना

उपनिर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लङ्घन नगर्न काउन्सिलको अपिल

काठमाडौँ /प्रेस काउन्सिल नेपालले वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा आचारसंहिताको उल्लङ्घन नगर्न सञ्चार माध्यमलाई अपिल गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै काउन्सिलले स्थिर समय सुरु हुनुभन्दा अघिसम्म भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिन्ह अङ्कित झण्डारब्यानर, श्रव्यदृश्यलगायतका सामग्री मौन (स्थिर) अवधिमा सञ्चार माध्यमबाट प्रकाशन/प्रसारण हुँदा निर्वाचन आचारसंहिता उल्लङ्घन हुने भन्दै त्यस्तो कार्य नगर्न/नगराउन सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको हो ।
निर्वाचन आचारसंहिता लागु भएपछि काउन्सिलले गरेको अनुगमनका क्रममा आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यमलाई आज (बिहिबार) २४ घण्टे स्पष्टीकरण सोधेको काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अनुगमनका क्रममा कतिपय सञ्चार माध्यमबाट चुनावी विश्लेषणका नाममा ‘…राम्रो मतान्तरसहित जित्ने सम्भावना’, ‘…अग्रता’ जस्ता शीर्षकमा स्थलगत अध्ययनको दाबी सहितका कुनै राजनीतिक दल र उम्मेदवारको पक्षपोषण हुनेगरी सामग्री सम्प्रेषण भएको पाइएपछि काउन्सिलले त्यस्ता सञ्चार माध्यमलाई २४ घण्टे पत्र काटेको हो ।
काउन्सिलले सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालाई आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन अपिल गर्दै निर्वाचन स्वच्छ, मर्यादितरूपमा सम्पन्न गर्न सघाउन भनेको छ ।
यही वैशाख १० गते आइतबार बारा क्षेत्र नं. २, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।

सम्बन्धित समाचार