धर्म/संस्कृतिसमाचार

चरिकोटमा तिहार सांस्कृतिक साँझ

दोलखा/एसकव डान्स स्टुडियोले दोलखा सदरमुकाम चरिकोटमा विहिवार बिबिध सांस्कृतिक– साङ्गितिक कार्यक्रम सहित दोस्रो तिहार सांस्कृतिक साँझ– २०८३ आयोजना गरेको छ ।

कार्यक्रममा भीमेश्वर नगरपालिका, दोलखा उद्योग बाणिज्य संघ लगायतले आर्थिक सहयोग तथा एभरेष्ट इभेन्र्टस् र एनआरडी इन्टरटेनमेन्टले सांस्कृतिक– प्राविधिक सहयोग गरेको आयोजक फुर्वा शेर्पाले बताए ।

तिहारको आगमनसंगै सदरमुकाम चरिकोट स्थित सातदोबाटो चोकमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रमले झिलिमिलि बत्तिले रंगिएको चरिकोट बजारलाई सांस्कृतिक एवम् साङ्गितिक सहर बनाई दिएको छ ।

दोस्रो तिहार सांस्कृतिक साँझ– २०८३ मा सांस्कृतिक विविधताका लागि थारु नाच, संगिनी नाच, हुड्केली नाच, झाँक्री नाच लगायत बिभिन्न जातिय परम्परागत तथा आधुनिक नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा बजार क्षेत्र तथा आसपासबाट धेरै दर्शकहरु सातदोबाटो चोकको चिसोको समेत प्रवाह नगरी साङ्गितिक माहौलमा रमाई रहेका थिए ।

कार्यक्रममा राष्ट्रिय एवम् स्थानीय स्तरका कलाकाहरुले आधुनिक तथा परम्परागत गित– नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मिस ट्यालेन्ट तथा मिस मल्टिमिडियाको विजेता एवम् मिस तमाङको रनर अफ बन्न सफल एसकव डान्स स्टुडियोको सिईओ सुस्मीता पाख्रिन तमाङलाई भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरले सम्मान गरेका थिए ।

सो अवसरमा नगरप्रमुख इश्वर नारायण मानन्धरले नेपाल र नेपालीको पहिचानको रुपमा रहेका गित, नृत्य तथा संस्कृति संरक्षणको लागि भीमेश्वर नगरपालिकाले निरन्तर सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

एसकव डान्स स्टुडियोका सिईओ सुस्मीता पाख्रिन तमाङको सभापतित्वमा सम्पन्न दोस्रो तिहार सांस्कृतिक साँझ– २०८३ मा भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सनत थापा, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेल, नागरिक अगुवा दीपशङ्कर चौलागाई, उद्योगी राजेश उप्रेती, चेम्बर अफ कर्मश दोलखाका अध्यक्ष रुद्रजंग बुढाथोकी, एसकव डान्स स्टुडियाका सचिव सुस्मा पाख्रिन, कलाकार मोहन तमाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार