अन्तरास्ट्रिय

सम्बन्ध मजबुद बनाउन चीन– पाकिस्तान सहमत

काठमाडौँ/ चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय समिति अन्र्तगत अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइशिङ अहिले पाकिस्तानको औपचारीक भ्रमणमा रहेका छन् । चीनको कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत रहेका लिउ हाइशिङ इस्लामाबाद पुगेको बेला चीन र पाकिस्तान राजनीतिक तथा आर्थिक सम्बन्ध थप मजबुत बनाउन सहमत भएका छन् ।

पाकिस्तानका उपप्रधानमन्त्री एवं विदेशमन्त्री इशाक डारको निमन्त्रणामा लिउ हाइशिङ पाकिस्तान गएका हुन् । इस्लामाबाद स्थित विमानस्थलमा पाकिस्तानी सिनेटर अनुषा रहमान खान र विदेश मन्त्रालयका एसिया–प्रशान्त मामिला सम्बन्धी अतिरिक्त सचिव डा.मोहम्मद फैसलले हाइशिङलाई स्वागत गरेका थिए ।

यो भ्रमण इस्लामाबाद र बेइजिङ बीच जारी उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक आदान– प्रदानको निरन्तरताका रूपमा रहेको जनाइएको छ । इस्लामाबादमा आयोजित विशेष अन्तरक्रिया कार्यक्रममा दुबै देशका प्रतिनिधिले आपसी सहकार्य र बलियो मित्रतामा जोड दिएका थिए । सो क्रममा दुबै देशले सबै परिस्थितिमा कायम रहने रणनीतिक सहकार्यलाई थप सुदृढ बनाउने जनाएका छन् । कार्यक्रममा दुवै देशबीचको राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध विस्तारका विषयमा समेत छलफल भएको थियो ।

कार्यक्रममा मन्त्री लिउ हाइशिङ सहित पाकिस्तानका सिनेट अध्यक्ष सैयद युसुफ रजा गिलानी, खैबर पख्तुनख्वाका गभर्नर फैसल करिम कुन्दी तथा पाकिस्तानका लागि चिनियाँ राजदूत चियाङ चाइतोङ लगायतको सहभागीता रहेको थियो ।

मन्त्री लिउ हाइशिङको भ्रमणको अवसरमा पाकिस्तान–चाइना रिसर्च सेन्टर फर पार्टी एन्ड स्टेट गभर्नेन्सको उद्घाटन समेत गरिएको छ । रिसर्च सेन्टरले दुवै देशका राजनीतिक दल तथा सामाजिक–आर्थिक क्षेत्रबीच अध्ययन, अनुसन्धान र अनुभव आदान– प्रदानलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । मन्त्री लिउ हाइशिङ बुधवार आफ्नो देश (चीन) फर्कने कार्यक्रम रहेको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले जनाएको छ ।

सम्बन्धित समाचार