दोलखा/गौरीशङ्कर संरक्षण क्षेत्र भित्र उल्लेख्य संख्यामा रेडपाण्डा रहेको आँकलन गरिएकोले यसको संरक्षण र विस्तारको लागि संरक्षण क्षेत्रले बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
गौरीशङ्कर संरक्षण क्षेत्र भित्र पर्ने बिभिन्न स्थानमा रेडपाण्डा देखिएकोले यसको संरक्षण र विस्तारको लागि संरक्षण क्षेत्रले बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको कार्यालय प्रमुख सन्तोष सेरचन बताउछन् । यो सानो– सुन्दर संरक्षित जनावर हो कार्यालय प्रमुख सेरचनले भने– यसको संरक्षण गर्नु हाम्रो जिम्मेवारी र कर्तव्य दुबै हो । संरक्षण क्षेत्र भित्र पर्ने दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाको बिभिन्न क्षेत्रमा रेडपाण्डाको उपस्थिति देखिएपनि संख्या भने एकिन नभएको कार्यालय प्रमुख सेरचन बताउछन् ।

रेडपाण्डा संरक्षणको लागि गौरीशङ्कर संरक्षण क्षेत्रले वासस्थान संरक्षण, उनीहरुलाई पानी उपलब्ध गराउन संरक्षण पोखरी निर्माण, रेडपाण्डा सम्बन्धि अध्यन तथा उनीहरुको उपस्थिति पहिचान गर्न दिसा, पदचिन्ह्र, रौँ र अन्य संभावित संकेतहरुको सर्वेक्षण, रेडपाण्डा पार्क निर्माण, क्यामेरा ट्रयापिङ, रेडपाण्डा पकेट क्षेत्र तथा ट्रेल पहिचान लगायतका कार्यक्रम सञ्चालन गरिरहेको कार्यालय प्रमुख सेरचनको भनाई छ ।
रेडपाण्डा १० देखी २५ डिग्री सेल्सियस तापक्रम तथा समुन्द्री सतहबाट २२०० देखि ४८०० मिटर उँचाईका क्षेत्रमा पाईने सानो आकर्षक तर लजालु जनावर हो । बाँस– निगालो रेडपाण्डाको प्रमुख आहारा भएकोले यो जनावर बाँस– निगालाका घना झाडी र घना जङ्गल क्षेत्रमा पाईने गौरीशङ्कर संरक्षण क्षेत्रका संरक्षण अधिकृत डा. विदुर खड्का बताउछन् । बाँसको टुसा पलाउने समयमा रेडपाण्डा वस्तिसम्मै पुग्ने गरेको स्थानीयको भनाई छ ।

४० देखी ६४ सेमीसम्मको लम्बाई हुने रेडपाण्डाको तौल ५ केजीसम्मको हुने डा. खड्का बताउछन् । यो जनावर नेपाल, भारत, भुटान, म्यानमा र चीनमा पाईने बताईएको छ ।
यो जनावर गौरीशङ्कर संरक्षण क्षेत्रमा पर्ने दोलखाको खारे– सोथली, मार्वु– कोप्लाङ र गोजीपाखा, रोलवालिङ क्षेत्रका बेदिङ, डोङनाङ, सुरी– मस्तिङग, श्यामा, कालिञ्चोक, रामेछापको चुचुरे, गुम्देल र सिन्धुपाल्चोकको घोर्थली, गुम्बा, लिस्ति, तातोपानी लगायतका क्षेत्रमा रहेको संरक्षण अधिकृत डा. खड्काको भनाई छ ।
पुर्वाधार निर्माण, मानविय गतिविधि, अवैध चोरी– शिकारी, वासस्थानको खण्डीकरण जस्ता कारणले रेडपाण्डा जोखिममा परेको डा. खड्का बताउछन् । संरक्षण क्षेत्रले अहिले मार्बु– च्छोरोल्पा मार्गमा रेडपाण्डा पकेट क्षेत्र तथा संरक्षण पदमार्ग विकासको संभाव्यता अध्यन, स्थानीय समुदाय, विद्यालय, पर्यटन व्यवसायी, पदयात्री लक्षित सचेतना कार्यक्रम सञ्चालन, अवैध शिकार, पासो तथा वासस्थान विनाश सम्बन्धि संभावित जोखिम अनुगमन लगायतका काम समेत गरिरहेको संरक्षण अधिकृत डा. खड्काले बताएका छन् ।
तस्विर सौजन्य– गौरीशङ्कर संरक्षण क्षेत्र


प्रतिक्रिया दिनुहोस्