बागमतीमुख्य समाचारस्वास्थ्य

महामारीमा सहयोगी हातहरु

दोलखा/कोरोना महामारीमा जिल्ला भरीकै रेफेरल सेन्टर बनेको चरिकोट अस्पताल, संक्रमित विरामी, फ्रन्टलाईमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई बिभिन्न निकायले स्वास्थ्य सामग्री तथा खाद्यान्न समेत सहयोग गरेको छ ।
दोलखाका युवा अभियन्ताहरु गोकर्ण भण्डारी, श्रृजन घिमिरे, सुजन काफ्ले, ध्रुब आचार्य, भरत श्रेष्ठ, पुष्कर अधिकारी, सुवास वस्नेत लगायतले बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति मार्फत चरिकोट अस्पताललाई १० थान ठुलो अक्सिजन सिलिण्डर र पाँच थान रेगुलेटर सहयोग गरेको छ । अक्सिजन किन्न मेरो एक हजार अभियान अन्र्तगत सङ्कलित रकमले युवाहरुले उक्त सहयोग गरेका थिए । उनीहरुले जिरी, बैतेश्वर र सिंगटी अस्पताललाई पनि पाँच÷पाँच थान अक्सिजन सिलिण्डर र केहि रेगुलेटर सहयोग गरेका थिए ।
चरिकोट अस्पतालमा उपचार गराई रहेका कोरोना संक्रमित, उनीहरुको सहयोगी र स्वास्थ्यकर्मीहरुलाई लालिगुँरास युवा क्लब चरिकोटले विगत एक महिना देखि खाना र खाजा उपलब्ध गराई रहेको क्लबका अध्यक्ष प्रविण श्रेष्ठले बताउनु भयो ।
त्यसैगरी बोधिसत्वा विहारका सुप्रिम मास्टर हेगुवाङसीको सहयोग तथा अन्तराष्ट्रिय समन्वय समाज र योगदान राष्ट्रको लागि दोलखाको पहलमा चरिकोट अस्पताललाई ६५ लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध भएको अस्पतालले जनाएको छ । अन्तराष्ट्रिय समन्वय समाज र योगदान राष्ट्रको लागि दोलखाले जिरी अस्पताललाई समेत स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
त्यसैगरी नापी, मालपोत, निर्वाचन कार्यालय र किवि जोन कार्यालयका कर्मचारीहरुले कोरोना संक्रमण नियन्त्रणको लागि फ्रन्ट लाईनमा बसेर काम गरिरहेका सुरक्षाकर्मीहरुलाई कार्यस्थलमै मास्क र सेनेटाईजर वितरण गरिएको मालपोत कार्यालयका मुरारि दुलालले बताउनु भयो । सो क्रममा ११ सय वटा मास्क र ५० थान सेनिटाईजर वितरण गरिएको पनि दुलालले बताउनु भयो । त्यसैगरी गाैरीशङ्कर सामुदायीक पुस्तकालयले सुरक्षाकर्मी, सञ्चारकर्मी, भीमेश्वर नगरपालिका र बैतेश्वर गाँउ पालिकाका सङ्क्रमित विरामीहरुलाई मास्क र सेनेटाईजर वितरण गरेकाे पुस्तकालयका अध्यक्ष कृष्ण वस्नेतले बताउनु भयाे ।
गाँउमै स्वास्थ्य परिक्षण
दोलखाको मेलुङ गाँउपालिकामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला समन्वय समिति दोलखाका सदस्य विदुर शर्माले व्यक्तिगत पहलमा गाँउमै औषधि सहितको स्वास्थ्यकर्मीको टोलि लगेर स्वास्थ्य परिक्षण सहित औषधि वितरण गरेका छन् ।
भक्तपुर इन्टरनेशनल अस्पतालका डाक्टर अभिषेक देव, रामकृष्ण श्रेष्ठ र नर्स कल्पना गुरुङको टोलिले मेलुङ गाँउपालिकाको वडा नम्बर १, ५, ६ र ७ का ५० भन्दा बढी संक्रमितको स्वास्थ्य परिक्षण सहित स्वास्थ्य सामग्री वितरण गरेको जिल्ला समन्वय समितिका सदस्य शर्माले बताउनु भयो ।

गाँउमा सङ्क्रमितकाे स्वास्थ्य परिक्षणमा पुगेकाे स्वास्थ्यकर्मीकाे टाेलि

सम्बन्धित समाचार