अन्तरवार्ता

सबै नेता सम्मानित हुनुहुन्छ – पार्वत गुरुङ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

आजकल कस्ता काममा ब्यस्त हुनुहुन्छ ?
मन्त्रालयका आन्तरिक काममै ब्यस्त छु । मन्त्रालयमा परम्परागत हुनेगरेका नीति कार्यक्रम र तौरतरिकालाई नयाँ ढंगले सम्पादन गर्ने गरी काम गर्दैछु । सामाजिक क्षेत्रमा पनि राष्ट्रिय गौरवका आयोजना बन्न सक्छन् भन्ने उदेश्यले महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता, तेस्रो लिङ्गी लगायतका क्षेत्रमा विभिन्न कामहरु गर्दैछु । यसका साथै सरकारका अन्य कामकाज र पार्टीभित्रका काम आदिमा ब्यस्त छु ।
मन्त्रालयमा काम गर्ने वातावरण कस्तो छ ? के नयाँ नेपाल निर्माण गर्न सजिलो छ ?
हामी परिवर्तन चाहन्छौँ । हामी सबै समृद्ध नेपाल सुखी नेपाली भन्ने सपना पूरा गर्न लागि परेका छौँ । तर हाम्रो वर्तमा संरचना, कर्मचारीतन्त्र, केही नीति कार्यक्रम र योजनाहरुमा पुनर्विचार गर्नुपर्ने अवस्था । नयाँ नेपाल निर्माण गर्न धेरै नयाँ काम गर्नुपर्ने देखिन्छ । सम्माननीय प्रधानमन्त्री ज्यू देशविकास गर्न दृढ हुनुहुन्छ, उहाँको संकल्पमा हामीले साथ दिईरहेका छौँ । तर हाम्रा संरचना र कर्मचारीतन्त्र निकै संकुचित घेरामा छन्, प्रक्रियाहरु लामा लामा छन् यद्यपि हामी क्रियाशील छौँ । हामी नतिजामा छिटै पुग्छौँ ।
तपाई मन्त्री पदमा नियुक्त भैसकेपछि खासमा कस्ता कामहरु गर्नुभएको छ ?
बालबालिकाको नाम बेचेर बिचौलियाको काम गर्ने संघसंस्थाहरुलाई नियमन गरेका छौँ । सरकारसँगै मिलेर काम गराउन उनीहरुलाई नीति निर्माण र ब्यवस्थापन गरेका छौँ । सुत्केरी महिलाको उद्धार कार्यक्रम, जेष्ठ नागरिक, बालबालिका, अपाङगता लगायतका क्षेत्रमा पहिचान हुने गरी कार्यक्रम लिएर आएका छौँ । हाल लक डाउनले गर्दा अवस्था सकसपूर्ण छ । यो कोभिडको वातावरण केही साम्य भएपछि हामी पक्कैपनि अन्य महत्वपूर्ण कार्यक्रम पनि सार्वजनिक गर्ने छौँ । गेम चेन्जरको रुपमा रुपान्तर हुनेगरी काम भैरहेको छ ।
मन्त्री ज्यू, सरकारका कामका बिषयलाई लिएर हाल चौतर्फी विरोध र असन्तुष्टी छ, पार्टीभित्रैबाट किन विरोध भएको हो ?
एक हिसाबले असन्तुष्टी पनि राम्रो कुरा हो, सुधारका लागि कमीकमजोरी सच्याउनका लागि । तर अहिलेको असन्तुष्टीलाई संरचना बिगार्ने, संविधान असफल पार्न खोज्ने, पार्टी एकता बिगार्ने, सरकारलाइ प्रतिपक्षजस्तो विरोध गरिरहने प्रवृत्ति शंकास्पद छ । यहाँ त पद र कुर्सीका लागि बार्गेनिङ भैरहेको जस्तो देखिन्छ । वैदेशिक हस्तक्षेप भैरहेका बेला सबै मिलेर लड्नुपर्ने अवस्थामा आन्तरिक रुपमै विरोध गरेको देख्दा अचम्म मान्नुपर्ने देखिन्छ । अब पार्टी नेतृत्व र सरकार नेतृत्व परिवर्तन गर्ने भन्ने कुरा असान्दर्भिक छ । यो त महाधिवेशनले निर्णय गर्ने बिषय हो । हामी हाम्रो तहबाट पार्टी एकीकरण हुनुपर्छ, बलियो हुनुपर्छ भनेर लागेका छौँ । दोलखाको सन्दर्भमा हामी पार्टीलाई एकढिक्का बनाएर लैजान्छाँै सकभर माथिल्ला कमिटीहरुमा पनि सहमति र सम्वादको वातावरण बनाउन क्रियाशील भएर लागिरहेका छाँै ।
नेकपाका कार्यकर्ताहरु पार्टी फुट्ने हल्लाले त्रसित भैरहेका छन्, पार्टी फुट्ने सम्भावना के हो ?
हाम्रा सबै नेताहरु सम्माननीय हुनुहुन्छ । केही नेताहरु आफ्नो कुण्ठा र पुर्वाग्रहका कारण प्रधानमन्त्रीको विरोध गरिरहनुभएको छ । सबैका आ आफ्ना इतिहास छन् तर देश संकटमा परेका बेला गाइजात्रा देखाउनु राम्रो कुरा हैन । कसैले बहुमत र अल्पमतका कारणले हिसाब गर्नु बिना अर्थको कुरा हो । हाम्रो पार्टीको यात्रा लामो छ, अहिले नै टुट्ने फु्ट्ने अवस्था छैन, धेरै नेता कार्यकर्ताको पंक्ति हामीसामु छ । पार्टी दुर्घटनामा जादैन फुटले कमजोर बनाउँछ । म केन्द्रीय सदस्यको हिसाबले सबैलाई ढुक्क बनाउन चाहन्छु कि यो पार्टी फुट्दैन हामी त्यो अवस्था आउन दिदैनौ ।
मन्त्री ज्यू, तपाईको मातृभूमि दोलखा जिल्लाले तपाईबाट केके कुरामा आशा गर्न सक्छ ?
विकास निर्माणको कुरा गर्नुपर्दा यो निरन्तर प्रक्रिया हो, हिजो अग्रजहरुले जे कुरा सुरु गर्नुभयो त्यसलाई निरन्तरता दिदै छु । दोलखाको शान अपर तामाकोशी हो त्यो छिटै पुरा हुदै छ । हाम्रा स्थानीय तह र यहाका जनप्रतिनिधिहरु निरन्तर विकासमा लागिरहनुभएको छ । म उहाँहरुलाई सघाइरहेको छु । उत्तर दक्षिण लोकमार्गको सुरुङमार्ग निर्माण यसै बर्ष सुरु हुन्छ । तामाकोशी कोरिडरको बाटोको काम रातो किताबमा समावेश भैसकेको छ, यो अब राष्ट्रिय राजमार्गको रुपमा निर्माण हुनेछ । अन्य विद्युत, सडक लगायतका थुप्रै आयोजनाहरु छन् । फिल्म सिटी, म्याग्नेसाईट, तामाकोशी ३,५ जस्ता आयोजनहरु छन्, कालिञ्चोक, गौरीशंकर, जिरी लगायतका क्षेत्रलाई प्याकेजकै रुपमा विकास गर्ने गरी काम भएका छन् । दोलखाका जनशक्तिलाई पनि ब्यवस्थापन गर्दै आएको छु । दोलखाली जनताको हितमा लाग्नु मेरो कर्तब्य हो म सदैव लाग्नेछु ।
अन्तमा के भन्नुहुन्छ ?
अहिले देशमा कोरोना महामारी छ । हामी सबै सुरक्षित रहौँ । बालबालिका, जेष्ठ नागरिकलाई विशेष स्याहार गरौँ । बाढी पहिरोबाट सुरक्षित बसौँ । सरकारलाई रचनात्मक सुझाव दिऔँ । पार्टी कार्यकर्ताहरुले पार्टी संकटमा नआउनको लागि आफ्नो तहबाट जिम्मेवार बनौँ । हामी सबै मिलेर जिल्ला बनाउने हो, देश बनाउने हो । आ आफ्नो तहबाट हामी प्रयत्न गरौँ । धन्यवाद ।

प्रस्तुतीः शरद सापकोटा

सम्बन्धित समाचार