दोलखा/दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर– २ बाँसबोडे की सम्झना खड्काले गाउँमै कृषि व्यवसाय गरेर मनग्य आम्दानी गरेकी छन् । डल्ले खुर्सानी र यसको विरुवा बिक्रि गरेर उनले बार्षिक सात लाख भन्दा बढी आम्दानी गरेकी छन् ।
गतबर्ष मैले डल्ले खुर्सानी बिक्रिबाट झण्डै ६ लाख रुपैया कमाएको थिए । यसको विरुवा बिक्रिबाट एक लाख ५० हजार कमाई भएको थियो– सम्झनाले भनिन् । यो बर्ष भने खुर्सानी बिक्रिबाट कम आम्दानी हुने देखिएको उनको भनाई छ । तर खुर्सानीको विरुवा बिक्रिबाट भने यो बर्ष राम्रै आम्दानी गरेको उनले बताईन ।
मेलुङ गाउँपालिकामा हेफर परियोजना सञ्चालन भएपछि सोहि परियोजनाको सहयोगमा सम्झनाले डल्ले खुर्सानी र त्यसको विरुवाको व्यवसायीक उत्पादन सुरु गरेकी थिईन ।
पालिकामा हेफर परियोजना सुरु भएपछि त्यसैमा आवद्ध भएर आफु व्यवसायीक रुपमा कृषि पेशामा लागेको र पहिलो पटक हेफर परियोजनाका शान्त भट्टले इलामबाट ल्याएको डल्ले खुर्सानीको विरुवा रोपेर व्यवसाय सुरु गरेको सम्झनाले बताईन ।
मेहेनत ग¥यो भने गाउँमै कृषि व्यवसाय गरेर पनि मासिक एक लाख कमाउन मुश्किल छैन– सम्झनाले भनिन् । आफुले कृषि व्यवसायमा लागेर पारिवारीक आम्दानिसंगै गाउँका केही युवालाई रोजगारी समेत दिन सकेको उनको भनाई छ ।
उनले अहिले डल्ले खुर्सानी र यसको विरुवाको बिक्रि वितरणसंगै एभोकाडो, कफी, जपनिज कटुस, तेजपत्ता, चाँप लगायतको विरुवा समेत बिक्रि गर्दै आएको बताएकी छन् । झण्डै १४ रोपनी जमिनमा सुरु गरेको यो व्यवसायले बार्षिक १० लाखभन्दा बढी कमाई हुने गरेको सम्झनाको भनाई छ । उनको यो व्यवसाय प्रमोसनको लागि हेफर परियोजनासंगै मेलुङ गाउँपालिकाले समेत राम्रो सहयोग गरेको छ ।
मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर कृषि व्यवसायमा सक्रिय युवा कृषक सम्झना खड्कालाई पालिकाले प्राविधिक सहयोग, विरुवा तथा अन्य परामर्श दिदै आएको बताए । यो बर्ष सम्झना खड्का समेत सहभागि सेतीदेवी महिला समूहलाई खुर्सानी सुकाउने मेशिन समेत उपलब्ध गराएको अध्यक्ष थोकरले बताए ।

मेलुङ गाउँपालिकाले आफ्नो व्यवसायको लागि प्राविधिक सहयोगसंगै विरुवा र मर्चिङ प्लास्टिक समेत उपलब्ध गराएको सम्झनाले बताईन । अहिले आफुले उत्पादन गरेको विरुवाहरु मेलुङ गाउँपालिकाले खरीद गरेर बिभिन्न कृषक समूहलाई वितरण गर्दै आएको उनको भनाई छ ।
आफुले उत्पादन गरेका डल्ले खुर्सानी, एभोकाडो, कफी, जपनिज कटुस, तेजपत्ता, चाँप लगायतको विरुवा दोलखाको गौरीशङकर, तामाकोशी र कालिञ्चोक गाउँपालिका तथा धादिङ, सिन्धुपाल्चोक र रामेछाप जिल्लाको बिभिन्न पालिका र कृषक समूहले खरिद गर्दै आएको सम्झनाले बताईन ।


प्रतिक्रिया दिनुहोस्