बागमतीसमाचार

एक महिनाको अवधिमा नौ फरार अपराधि पक्राउ

दोलखा/जिल्ला प्रहरी कार्यालय दोलखामा ०८३ कार्तिक महिनामा १३ वटा आपराधिक घट्ना दर्ता भएको प्रहरीले जनाएको छ । दर्ता भएका आपराधिक घट्नामा सबैभन्दा बढी भवितव्य ज्यान र झुण्डिएर आत्महत्या तीन– तीन वटा, सार्वजनिक शान्ति विरुद्धको कसुर र लागू औषध दुई– दुईवटा तथा चोरी सम्बन्धि कसुर, ज्यान मार्ने उद्योग र सवारी ज्यान एक– एक वटा रहेकोे दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले बताए ।

लागू औषध तर्फ गत कार्तिक– ४ गते ट्रमाडोल– ५० नामको ओषधी १०२ क्याप्सुल सहित दुई जना पक्राउ परेको प्रहरी निरीक्षक किरण लोप्चनले बताए । त्यसैगरी कार्तिक– ४ गतेनै ट्रमोल– ५० नामको औषधी ५० क्याप्सुल, ड्राईक्लोमिन ११ ट्याब्लेट र डेक्सट्रोमेथोरपेन ६ ट्याब्लेट सहित एक जना पक्राउ परेको प्रहरी निरीक्षक लोप्चनले बताए ।

जिल्ला प्रहरी कार्यालय दोलखामा चालु अवस्थामा रहेका मुद्दामा नौ पुरुष र एक महिला गरी १० जना प्रतिवादी पक्राउ परेको प्रहरीले जनाएको छ । त्यसैगरी फैसला कार्यान्वयनको क्रममा नौ जना फरार अपराधि पक्राउ परेको र उनीहरुबाट एक बर्ष, ७ महिना, १५ दिन कैद तथा ३१ लाख, ५७ हजार जरीवाना असूल भएको दोलखाका प्रहर िप्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले बताए ।

एक महिनाको अवधिमा पुरुष– १, महिला– १ र बालक– १ गरी तीन जना हराएको निवेदन परेको र त्यसमा एक जना महिला फेला परेको भएपनि दुई जनाको भने खोजिकार्य जारी रहेको प्रहरीको भनाई छ । यो अवधिमा घरेलु हिंसा सम्बन्धि एउटा निवेदन परेको र त्यसलाई अदालत पठाईएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखामा एक महिनाको अवधिमा ३० वटा ठाडो उजुरी परेको र त्यसमा २६ वटा फछ्यौ भै सकेको तथा चार वटा फछ्यौट हुन बाँकी रहेको कार्यालयले जनाएको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालयबाट एक वटा ठाडो उजुरी प्राप्त भएको र त्यसलाई फछ्यौट गरिएको प्रहरीको भनाई छ ।

प्रहरीले अपराध नियन्त्रणमा सहयोग पुगोस भन्ने उदेश्यले एक महिनाको अवधिमा समुदाय तथा विद्यालय केन्द्रीत ३३ वटा सचेतना मूलक कार्यक्रम आयोजना गरिएको र त्यसमा १३४५ जना सहभागि रहेको प्रहरी नायव उपरीक्षक लामाले बताए ।

सम्बन्धित समाचार