शिक्षासमाचार

हिलेपानी संस्कृत माविको स्वर्ण महोत्सव तयारी

दोलखा/दोलखाको कालिञ्चोक गाउँपालिका–४ लामिडाँडा स्थित हिलेपानी संस्कृत माध्यामिक विद्यालय स्वर्ण महोत्सवको तयारीमा जुटेको छ । विद्यालयले स्थापनाको ५० वर्ष पुरा गर्न लागेको अबसरमा बिभिन्न कार्यक्रमका साथ पाँच दिनसम्म स्वर्ण महोत्सव मनाउन लागेको हो । हामी सबैको ईच्छा ः गुणस्तरीय, व्यवहारिक र प्रविधियुक्त शिक्षा भन्ने नाराका साथ विद्यालयले स्वर्ण महोत्सवको तयारी गरेको हो ।
माघ १७ देखि २१ गतेसम्म बिविध कार्यक्रमको आयोजना गरेर विद्यालयको स्वर्ण महोत्सव मनाउन लागिएको प्रधानाध्यापक भीमकुमार पाण्डेले जानकारी दिए ।
उनका अनुसार पहिलो दिन विविध साँस्कृतिक प्रस्तुतीहरुका साथ स्वर्ण महोत्सवको उद्घाटन हुनेछ । जिल्लाका संघीय सांसद गंगा कार्कीले कार्यक्रमको उद्घाटन गर्नेछन् । दोस्रो दिन जिल्ला स्तरीय वतृत्वकला प्रतियोगिता, गाउँपालिका स्तरीय साँस्कृतिक नृत्य प्रतियोगिताको आयोजना गरिनेछ । त्यस्तै तेस्रो दिन गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता, चौथो दिन गाउँपालिका स्तरीय छात्र भलिबल प्रतियोगिता हुनेछ । पाँचौ दिन भलिबलको फाईनल खेल, सम्मान तथा पुरस्कार बितरणसँगै स्वर्ण महोत्सवको समापन गरिनेछ ।
सह–प्रधानाध्यापक डम्बरबहादुर थामीले सबै सरोकारवालाहरुको सहयोगमा विद्यालयले ५० औँ वर्ष पुरा गर्न लागेकोले शैक्षिक गुणस्तरलाई थप अभिबृद्धि गर्ने संकल्पका साथ स्वर्ण महोत्सव मनाउन लागिएको बताए । हिलेपानी माविमा अहिले विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा अध्यापन हुँदै आएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिराज भण्डारीले समस्या, चुनौतीहरुका बाबजुत विद्यालयले स्वर्ण वर्ष पुरा गर्नु खुसीको विषय भएको बताउँदै शैक्षिक गुणस्तर बढाउने प्रयास जारी रहेको बताए ।
विद्यालयमा लामिडाँडा, लापिलाङ र बावरेका १७५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने १९ जना शिक्षक÷कर्मचारी कार्यरत छन् । २०४८ सालदेखि एसएलसी परीक्षामा विद्यार्थी सामेल गराउँदै आएको यो विद्यालयले भौतिक पुर्वाधारको समस्या झेल्दै आएको छ ।

सम्बन्धित समाचार