दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ स्थित भागेखोला– तामाकोशी नदी किनारामा मंगलवार विहान रुखको जरामा अड्कीएको अवस्थामा भेटिएको आमा– छोराको शव गत असोज २३ गते काठमाडौँबाट हराई रहेको मेलुङ गाउँपालिकाका करिब ३० बर्षिय आस्मा वस्नेत खड्का र उनको छोरा करिब १० बर्षिय आदित्य खड्काको भएको प्रहरीले जनाएको छ ।
विदेशबाट आएका श्रीमानसंग काठमाडौँको गौशाला स्थित एक होटलमा बसेकी आस्मा गत असोज २३ गते होटलबाटै बेपत्ता भएकी थिईन ।
पोर्चुगलमा रहेका उनको श्रीमान दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर– १ पवटीका दिनेश खड्का तीन बर्षपछि गत असोज २१ गते बेलुका नेपाल आएका थिए । आस्मा विगत एक बर्ष देखि काठमाडौँमै कोठा लिएर छोरा पढाएर बसेकी थिईन । असोज २१ गते दिनेश र आस्मासंगै कोठामा बसेपनि २२ गते उनी कोठामा नबस्ने भन्दै निस्किएपछि उनीहरु गौशालाको एउटा होटलमा बसेको पारिवारीक स्रोतले जनाएको छ ।
होटलमा रहेकै बेला असोज २३ गते विहान आस्मा पानी लिएर आउछु भन्दै छोरा सहित तल झरेपछि बेपत्ता भएकी हुन् ।
मंगलवार विहान तामाकोशी नदी किनारमा भेटिएको शवको प्रकृति काठमाडौँबाट हराएकी आस्मासंग मिलेपछि प्रहरी र स्थानीय समेतले पवटीमा रहेका उनको परीवारका सदस्यलाई खबर गरेको र उनको परिवारका सदस्य तथा छिमेकीहरुले शवको पहिचान गरी आस्माकै भएको एकिन गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोप्चनले बताए ।

काठमाडौँबाट बेपत्ता आस्मालाई उनको श्रीमान र आफन्तहरुले काठमाडौँकै बिभिन्न ठाउँमा खोजि गरिरहेका थिए । तामाकोशी नदी किनारमा भेटिएको शव आस्माकै रहेको पुष्टि भएपछि श्रीमान दिनेश खड्का लगायत नातेदारहरु दोलखा आएको प्रहरीले जनाएको छ ।
मृतक आस्माको बुबा दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ८ का रुद्र बहादुर वस्नेतले छोरी बेपत्ता भएपछि काठमाडौँको महिला सेलमा निवेदन दिएका थिए । मृतकको मामा श्याम बस्नेतले भाञ्जी आस्मालाई श्रीमान र परिवारका अन्य सदस्यले पहिले देखिनै मानसिक रुपमा तनाव दिदै आएकोले उनको मृत्यु स्वभाविक नभएको बताए ।
दोलखा आएका मृतकको श्रीमान दिनेश खड्कालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको र मृतकको मामाहरु काठमाडौँबाट आएपछि शवको पोष्टमार्ट गरी परिवारलाई बुझाईने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक लोप्चनले बताए ।
भीरबाट लडेर मृत्यु

दोलखाकै तामाकोशी गाउँपालिका वडा नम्बर– १ भीरकोट माझिगाउँका ६६ बर्षिय नुर बहादुर खड्काको मंगलवार भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिक माझि भीरमा घाँस काट्न गएका नुर बहादुर झण्डै ४० फीट तल खसेर रुखमा अड्कीएका थिए ।
रुखमा अड्कीएर मृत्यु भएका नुर बहादुरको शव सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ गुल्म हेड क्वाटर चरिकोटबाट गएको सशस्त्र प्रहरी नायव निरीक्षक मेग प्रसाद चौलागाईको कमाण्डमा रहेको टोलीले निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्