कला / साहित्यबिचार / ब्लगयो पनि

सालिनको मृत्यु प्रकरणले दिएको संदेश

बिष्णुवरसिंह थापा

संसारमा सबै भन्दा ठूलो कुरा परिवार हो। जब परिवारका सदस्यहरू परिवारको भलाई बिर्सेर आफ्नै मात्रै “स्वार्थ र खुशीको” लागि तितर बितर हुन्छन् भने त्यो भन्दा ठूलो पिंडा अरू के नै हुन्छ होला र ? अझ त्यँही माथि आफ्ना जन्म दिने बाबु आमा आफ्ना सन्तानलाई बेसहारा छोडेर अर्थात् बाउ अर्कै आमा खोजेर हिंड्छ, अनि आमा अर्कै बाउ खोजेर हिंड्छ भने तपाईं आफैं सोच्नुस् त्यो सन्तानको मुटु कति हजार पटक टुक्रिन्छ होला।

जिउँदो छँदा पनि यस्तै धेरै पिंडाहरू सहेर बाँचेकी रहिछौ नानी। सामाजिक संजालमा उल्लेख भए अनुसार सालिन पोखरेल तीन वर्षको छँदा नै उनका आमा र बुवाको सम्बन्ध बिच्छेद भएको थियो । उनले बुवाको माया र आमाको ममता लामो समय पाउन नै सकिनन् । आफ्नो दु:ख र सुख बिसाउने ठाउँ नै भेटिनन् उनले। आफू सँगैका साथीहरू आफ्नो परिवार सँग रमाएको देख्दा उनको मन कति रुन्थ्यो होला। बुवा र आमा दुवैले विदेशमा अर्को विवाह गरेर बसेका थिए । सम्बन्ध बिच्छेद पछि आमा दुवईमा र बुवा दक्षिण अफ्रिका गए ।

सालिन कहिले काकासँग त कहिले मामाघरकी हजुरआमासँग बस्दै आएकी थिइन् । उनको स्थायी बस्ने ठाउँ नै थिएन। उनीहरूले पनि आफूसँगै राखेनन्, होस्टेल पठाईदिए। “त्यसैले परिपक्क नहुन्जेलसम्म आफ्ना नानी, बाबुहरू आफू सँगै राख्नुस्, तड्पी तड्पी बाँच्न होईन, हाँसी खुशी बाँच्न सिकाउनुस, धेरै माया र संस्कार दिनुस्, आफ्नो स्वार्थको लागि अलपत्र छोडेर कन्त बिजोग बनाउने हो भने सन्तान नजन्माउदै बेस नत्र जिन्दगी भरि पछुताएर बाँच्नु पर्ला, सन्तानको आँशुले पोल्छ,पाप लाग्छ।” सालिनले यो कवाडी समाज, निर्दयी, निष्ठुरी बाबु आमा र अभिभावकहरूलाई छोडेको पीडादायी र विद्रोहको संदेश हो यो। मेरो आफ्नो सन्तान छैन र त मलाई यति धेरै पिंडा भईरहेको छ भने तपाईं सन्तान हुनेहरूलाई झन् कति पिंडा भईरहेको होला यस्तो अत्यन्तै कारूणिक र हृदय विदारक अवस्था देखेर। कठै बर बिचरा सालिनलाई मर्न जति पिंडा भयो, त्यो भन्दा हजारौं गुणा पिंडा लिएर बाँचेकी रहिछन्।

यदि यो बलात्कार पछिको हत्या हो भने नानी तिम्रो मृत आत्मालाई खै कसरी शान्ति मिल्छ होला र ? जहाँ कानूनको ब्यापार हुन्छ, न्यायधिशहरूको किनबेच हुन्छ, अनि प्रहरी प्रशासन प्रभाव र दबाबमा चल्छ….!!! यदि तिमीले आफैंले यस्तो बाटो रोजेकी रहिछौ भने यस्तो बाटो रोज्न बाध्य पार्ने तिमीलाई ३ वर्षको कलिलो उमेरमा एक्लै बेसाहारा बनाई छोडेर हिंड्ने तिम्रा आमा बाबा र अन्य अपराधीहरूलाई ठूलो पाप लाग्ने छ, अवश्य पाप लाग्ने छ। नानी तिम्रो आत्मालाई चिर शान्ति मिलोस्। भावपूर्ण श्रद्धान्जली।

{ लेखक थापा हाल अष्ट्रेलियामा हुनुहुन्छ }

सम्बन्धित समाचार