अर्थ र ब्यापारकृषि र सहकारीमुख्य समाचारसमाचार

मेलुङको दुई वडामा आलु प्रर्वद्धन कार्यक्रम

दोलखा/बर्षमा १७ करोड भन्दा बढीको आलु निर्यात गर्ने दोलखाको मेलुङ गाँउपालिकाले दुई वटा वडामा आलु प्रर्वद्धन कार्यक्रम सुरु गरेको छ । पालिकामा सबैभन्दा बढी आलु उत्पादन हुने वडा नम्बर–३ घ्याङ सुकाठोकर र वडा नम्बर–५ डाँडाखर्कमा आलु पकेट क्षेत्र अन्र्तगत आलु प्रर्वद्धन कार्यक्रम सुरु गरिएको मेलुङ गाँउपालिकाका प्रमुख हिरा कुमार थोकरले बताउनु भयो ।
आलु प्रर्वद्धन कार्यक्रम अन्र्तगत पालिकाको दुई वटा वडामा समूह निर्माण गरिएको र ती समूहहरुलाई अनुदानमा ट्याक्टर, स्प्रे मेशिन, आलुको उन्नत विउ र भिटामीन उपलब्ध गराईएको पालिका प्रमुख थोकरले बताउनु भयो ।
आलु प्रवद्धन कार्यक्रम अन्र्तगत बागमति प्रदेश सरकारबाट यो बर्ष १० लाख रुपैया प्राप्त भएको थियो मेलुङ गाँउपालिकाका कृषि प्राविधिक बिष्णुकुमार जिरेलले भन्नु भयो– सोहि बजेटबाट वडा नम्बर– ३ घ्याङ सुकाठोकर मा रहेको दोभान बर्षे आलु उत्पादक कृषक समूहलाई ५० प्रतिशत लागत सहभागितामा पाँच वटा ट्याक्टर, १५ वटा स्प्रे मेशिन, भिटामीन र रोजिता जातको आलुको उन्नत विउ तीन हजार केजी तथा डिजिरे जानको आलुको उन्नत विउ एक हजार केजी उपलब्ध गराईएको छ । त्यसबाट समूहमा आवद्ध ३० जना कृषक लाभान्वित भएको जिरेलको भनाई छ ।


त्यसैगरी वडा नम्बर– ५ डाँडाखर्कमा रहेको सयपत्री अग्र्यानिक बर्षे आलु उत्पादक कृषक समूहलाई तीन वटा ट्याक्टर, १५ वटा स्प्रे मेशिन, भिटामीन र रोजिटा जातको आलुको उन्नत विउ तीन हजार केजी तथा डेजिरे जातको आलुको उन्नत विउ एक हजार केजी उपलब्ध गराईएको कृषि प्राविधिक जिरेलले बताउनु भयो । त्यसबाट समूहमा आवद्ध ३३ जना कृषक लाभान्वित भएको पनि कृषि प्राविधिक जिरेलले बताउनु भयो ।
किसानहरुको मागको आधारमा समूह मार्फत प्रयोग गर्ने गरी ट्याक्टर लगायतका कृषि प्रविधि र आलुको उन्नत जातको विउ उपलब्ध गराईएको जिरेलको भनाई छ । वडा नम्बर ५ मा अघिल्लो बर्ष माटो परिक्षण गर्दा अम्लिय देखिएकोले कृषि चुन समेत वितरण गरिएको कृषि प्राविधिक जिरेलले बताउनु भयो ।
त्यसैगरी दुबै समूहमा आवद्ध कृषिकहरुलाई आलुखेती सम्बन्धि प्राविधिक तालिम समेत उपलब्ध गराईएको जिरेलले बताउनु भयो ।

सम्बन्धित समाचार