धर्म/संस्कृतिफोटो फिचरसमाचार

कालिञ्चोक पुग्ने भारतिय पर्यटकको संख्यामा बृद्धि

दोलखा/दोलाखमा रहेको प्रसिद्ध कालिञ्चोक मन्दिरमा भारतिय पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएको छ । दुई÷तीन बर्ष अघिसम्म आन्तरीक पर्यटकमात्र देखिने कालिञ्चोक मन्दिरमा अहिले दैनिक एक÷डेढ सय भारतिय पर्यटक पुग्ने गरेको कालिञ्चोक भगवती मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका आयुस तमाङले बताउनु भयो ।
शुक्रवार, शनिवार र बिभिन्न पर्व तथा सार्वजनिक विदाको समय दैनिक ५/६ सय धार्मिक पर्यटक पुग्ने कालिञ्चोक मन्दिरमा एक÷डेढ सय भारतिय पर्यटक हुने आयुस तमाङको भनाई छ । विगतमा भारत लगायत अन्य मुलुकबाट कालिञ्चोक पुग्ने पर्यटक थोरैमात्र हुने गर्थे आयुसले भन्नु भयो– पछिल्लो समय भारतिय पर्यटकको संख्यामा उल्लेख्य रुपमा बृद्धि भएको छ ।
पछिल्लो समय कालिञ्चोकको प्राकृतिक एवं धार्मिक महत्वको बारेमा विदेशमा समेत प्रचार भएको, केबलकार सञ्चालनमा आएको र खुरकोटकोबाटो रामेछाप हुदै दोलखासम्म जोडिएकोले पनि कालिञ्चोक मन्दिरमा भारतिय पर्यटकको संख्या उल्लेख्य देखिन थालेको स्थानीय सुनपाती होटलका सञ्चालक एवं पर्यटन व्यवसायी हरि ओलीले बताउनु भयो ।
पछिल्लो समय कालिञ्चोकमा भारतको केरला, पश्चिम बंगाल, पाकिस्तान, बंगलादेश लगायतबाट उल्लेख्य पर्यटक आउने गरेको पर्यटन व्यवसायी ओलीले बताउनु भयो ।


तीन हजार आठ सय ४२ मीटर उँचाईमा रहेको सानो पहाडी टाँकुरामा अवस्थित कालिञ्चोकमा हरेक बर्ष पुष देखि फागुन चैत्रसम्म हिमपात समेत हुने भएकोले धार्मिक लगायत सबैखाले पर्यटक कालिञ्चोक पुग्ने गरेको स्थानीय बताउछन् । सानो टाँकुरामा अवस्थित कालिञ्चोक भगवती मन्दिर परिसरमा जलकुण्ड समेत रहेको छ । यहाँको मुख्य विशेषता यहि जलकुण्ड हो । कालिञ्चोक टाँकुरामा अवस्थित जलकुण्डमा कतैबाट पानी आउने ठाँउ देखिदैन तर जलकुण्डको पानी हरेक मौसममा कायम रहन्छ । किम्वदन्ति अनुसार जलकुण्डबाट दाहिने तिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धारा भएर सुनकोसी बगेको मानिन्छ ।
कालिञ्चोक मन्दिर परिसरमा हिमालय पर्वतकी पुत्री पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको वासस्थान भएको जनविश्वास समेत रहदै आएको छ । कालिञ्चोक क्षेत्रमा भेडागोठहरु रहेको र कालिञ्चोक मन्दिरमा सबै भेडाहरु जम्मा भएर बस्ने तथा ढुङ्गा चाट्ने गरेपछि जलकुण्ड देखिएको किम्वदन्ति समेत प्रचलनमा रहेको छ ।


अंग्रेजी नयाँ बर्ष १ जनवरी २०२४ को लागि कालिञ्चोकको प्रवेश बजार कुरीमा रहेका झण्डै ६० वटा होटलहरु मा धमाधम बुक भै रहेको स्थानीय होटल व्यवसायी पूर्णीमा खरेल थापाले बताउनु भयो । होटल बुक गर्नेमा झण्डै ७० प्रतिशत भारतिय पर्यटक रहेको उहाँले बताउनु भयो । सामान्यत नेपाली पर्यटकले एक दिनको लागिमात्र होटल बुक गर्नेमा भारतिय पर्यटकले दुई दिनसम्म होटल बुक गर्ने स्थानीय होटल व्यवसायीहरु बताउछन् ।
दोलखा सदरमुकाम चरिकोटबाट १८ किलोमिटरको दूरीमा रहेको कालिञ्चोकको प्रवेश बजार कुरीबाट झण्डै एक किलोमिटर केबलकार मार्फत कालिञ्चोकको टाँकुरामा पुग्न सकिने व्यवस्था रहेको छ । कुरीबाट केबलकारमा टाँकुरा पुग्न र फर्कन नेपालीलाई प्रतिव्यक्ति ६ सय रुपैया शुल्क लाग्ने केबलकार टिकट काउण्टरका सन्देश शिवाकोटीले बताउनु भयो । केबलकारमा भारतिय पर्यटकलाई नौ सय ६० र अन्य मुलुककालाई १३ सय रुपैया शुल्क लाग्ने पनि शिवाकोटीले बताउनु भयो ।

सम्बन्धित समाचार