बागमतीमुख्य समाचारसमाचारस्वास्थ्य

कोरोना परिक्षणको लागि चरिकोटमै पिसिआर प्रयोगशाला

दोलखा/दोलखा सदरमुकाम चरिकोटमा पनि कोरोना भाईरस (कोभिड १९) परिक्षणको लागि बुधवारबाट पिसिआर प्रयोगशाला सञ्चालनमा आएको छ ।
अत्याधुनिक प्रविधि युक्त पिसिआर प्रयोगशालामा एक पटकमा ३२ वटा नमुना परिक्षण गर्न सकिने र तीन घण्टा भित्र रिर्पोट दिन सकिने प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्कीले बताउनु भयो । आवश्यकता अनुसार प्रयोगशालाबाट दैनिक चार सयसम्म पिसिआर परिक्षण हुनसक्ने कार्कीले बताउनु भयो ।
दोलखाबाट निर्वाचित संघिय सांसद पार्वत गुरुङ तथा प्रदेश सांसद पशुपति चौलागाई र विशाल खड्काको सांसद विकास कोषबाट प्राप्त आर्थिक सहयोगले पिसिआर प्रयोगशाला स्थापना गरिएको हो । प्रयोगशालामा तत्कालको लागि प्राविधिक सहयोग प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलले उपलब्ध गराएको भीमेश्वर नगरपालिकाले जनाएको छ ।
प्रयोगशाला स्थापनाको लागि संघिय सांसद तथा प्रदेश सांसदहरुको सांसद विकास कोषबाट एक करोड ४१ लाख प्राप्त भएको भीमेश्वर नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताउनु भयो । नगरपालिकाले प्रयोगशाला स्थापनाको लागि एक करोड ४६ लाखमा टेन्डर आव्हान गरेकोमा ९४ लाख ६३ हजारमा सम्झौता भै प्रयोगशाला सामग्री ल्याईएको खड्काले बताउनु भयो । सांसद विकास कोषबाट प्राप्त बाँकी रकम प्रयोगशाला व्यवस्थापनमै खर्च गरिने पनि खड्काले बताउनु भयो ।
पिसिआर प्रयोगशाला सञ्चालनको लागि प्राविधिकहरु माईक्रो वायोलोजिष्ट नसना सुवाल र ल्याब टेक्नोलोजिष्ट (बिएमएलटी) सञ्जु थामी रहनु हुने जनाईएको छ । केहि दिनको लागि भने प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका ल्याब टेक्नोलोजिष्टसुमन सुवेदीले समेत सहयोग गर्ने भीमेश्वर नगरपालिकाले जनाएको छ ।
पिसिआर प्रयोगशाला शुभारम्भ कार्यक्रममा जिलला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, मेलुङ गाँउपालिकाका प्रमुख नरबहादुर श्रेष्ठ, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्की, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर खड्का, भीमेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख श्याम खड्का, प्रस्तावित चरिकोट अस्पतालका डाक्टर विनोद दंगाल लगायतको सहभागिता रहेको थियो ।
दोलखामा बुधवार १८ जना संक्रमित थपिए
दोलखामा बुधवार १८ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४५ पुगेको छ । बुधवार सबैभन्दा बढी जिरी नगरपालिकामा १६ जना र विगु तथा तामाकोसी गाँउपालिकामा एक÷एक जना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
दोलाखमा पनि निषेधाज्ञा
कोरोना संक्रमण बढ्दै गएपछि सथानिय प्रशासनले दोलखा जिल्लामा पनि निषेधाज्ञा जारी गरेको छ । बुधवार राति १२ बजेबाट बैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भयो । जिल्लामा विहान ६ बजेदेखि ८ बजेसम्म मात्र बजार खोल्न पाईने र अत्यावश्यक बाहेकका सवारी साधन चलाउन नपाईने जनाईएको छ ।

सम्बन्धित समाचार