मुख्य समाचारराजनितिसमाचार

एमाले दोलखाले छान्यो नौवटै पालिकामा सर्वसम्मत उम्मेदवार

दोलखा/नेकपा एमाले दोलखाले जिल्लाको दुई नगरपालिका र सात गाँउपालिकामा पार्टीको तर्फबाट प्रमुख र उपप्रमुखको उम्मेदवार सर्वसम्मत चयन गर्दै प्रदेश कमिटीमा नाम सिफारीस गरेको छ ।
नेकपा एमाले दोलखाको बुधवार सम्पन्न जिल्ला कमिटी बैठकले भीमेश्वर नगरपालिकाको प्रमुखमा भरत केसी र उपप्रमुखमा कमला वस्नेतलाई चयन गरेको छ । उहाँहरु दुबै जना अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित प्रमुख र उपप्रमुख हुनुहुन्छ । भीमेश्वर नगरपालिकाको दिर्घकालिन विकासका योजना निर्माण तथा त्यसको कार्यान्वयनमा नगरप्रमुख केसी र उपप्रमुख वस्नेतको महत्वपुर्ण भूमिका रहेको नगरवासीहरुको भनाई छ । त्यसैगरी जिरी नगरपालिकाको प्रमुखमा मित्र जिरेल र उपप्रमुखमा कृष्णमाया बुढाथोकीलाई चयन गरेको छ । प्रमुखमा चयन हुनु भएका मित्र जिरेल नयाँ भएपनि उपप्रमुख कृष्णमाया बुढाथोकी भने अघिल्लो निर्वाचनमा एमालेबाट उपप्रमुखमै निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ ।
पार्टीले शैलुङ गाँउपालिकाको प्रमुखमा धनबहादुर तमाङ र उपप्रमुखमा पार्वती कार्की थापालाई चयन गरेको छ भने मेलुङ गाँउपालिकाको प्रमुखमा हिरा थोकर र उपप्रमुखमा गायत्री आचार्यलाई चयन गरेको छ । त्यसैगरी तामाकोसी गाँउपालिकाको प्रमुखमा अभिषेक सुवेदी र उपप्रमुखमा अम्बिका पोखरेल, बैतेश्वर गाँउपालिकाको प्रमुखमा माधव प्रसाद घिमिरे र उपप्रमुखमा नविना लामा, गौरीशङ्कर गाँउपालिकाको प्रमुखमा जंग गुरुङ र उपप्रमुखमा मुना शिवाकोटी, विगु गाँउपालिकाको प्रमुखमा अच्युतम केसी र उपप्रमुखमा देवीका थामी तथा कालिञ्चोक गाँउपालिकाको प्रमुखमा गणेश शिवाकोटी र उपप्रमुखमा कविता थामीलाई चयन गरेको छ । एमालेले चयन गरेको सात वटै गाँउपालिकाका प्रमुख र उपप्रमुख सबै नयाँ उम्मेदवारहरु हुन् ।
नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ केहि केहि असहमति रहेपनि समग्रमा सर्वसम्मत नाम चयन गरिएको बताउनु भयो । पार्टी कमिटीले विधि र प्रकृया अनुसारनै नाम चयन गरेकोले निर्वाचन जित्न समस्या नहुने अध्यक्ष श्रेष्ठको भनाई छ ।

सम्बन्धित समाचार