दोलखा/आईतवार दोलखाको उच्च हिमाली तथा पहाडी भेग कालिञ्चोक, शैलुङ, खरीढुङ्गा, खावाडाँडा सहित सदरमुकाम चरिकोटमा समेत हिमपात भएको छ ।
दोलखाको कालिञ्चोकमा आईतवार अपरान्ह्र १२ बजेबाट अत्यधिक हिमपात भै रहेको कालिञ्चोक केबलकारका इलेक्ट्रिसियन शुसान्त ढुङ्गाना केसीले बताए । अत्यधि हिमपातले ३८४२ मीटरको उँचाईमा रहेको कालिञ्चोकको सबैतिर सेताम्य भएको छ । मानिसले सडक पहिल्याउन समेत कठिन भएर बाटोमै अलपत्र परेका छन् – केसीले भने । अलपत्र परेका केहिलाई केबुलकारको टिम र कुरीका स्थानिय व्यवसायीहरुको सहयोगमा उद्दार गरिएको उनले बताए ।
पुष– माघमा चारपटक भन्दा बढी हिमपात भएको कालिञ्चोकमा आईतवार अपरान्ह्र १२ बजेबाट लगातार हिमपात भएकोले दुई फिटभन्दा बढी हिउँ जमिसकेको कुरीका व्यवसायीहरुले बताए । कालिञ्चोकमा पुगेका पर्यटकहरु अहिले चिसोले समस्यामा परेको भएपनि हिउँसंग रमाईरहेको कुरीका होटल व्यवसायीहरु बताउछन् । कालिञ्चोकमा यातायात भने ठप्प भएको छ ।
सिन्धुपाल्चोकको सिमाना मूडे– खरीढुङ्गामा पनि हिमपात भै रहेको स्थानियले बताएका छन् । लगातार हिमपात भै रहेपनि दोलखा लगायतका जिल्लामा आउने यातायात भने अवरुद्ध नभएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताए । त्यसैगरी शैलुङ क्षेत्रमा पनि हिमपात भै रहेको स्थानियले बताएका छन् ।
सदरमुकाम चरिकोटमा पनि हिमपात
आईतवार सदरमुकाम चरिकोटमा पनि हिमपात भएको छ । साँझ ५ः ३० बजेबाट केहि समय हिमपात भएको थियो । हिमपातका कारण बजार क्षेत्रमा अत्यधिक चिसो बढेको छ । १९७० मिटरको उँचाईमा रहेको सदरमुकाम चरिकोटमा यो बर्ष आईतवार दोस्रो पटक हिमपात भएको हो । यस अघि माघको अन्तिम साता पनि चरिकोटमा हिमपात भएको थियो ।
प्रतिक्रिया दिनुहोस्