अर्थ र ब्यापारमुख्य समाचारसमाचार

दोलखा सदरमुकाम चरिकोट लगायत उच्च भेगमा हिमपात

दोलखा/दोलखा सदरमुकाम चरिकोट लगायत जिल्लाको उच्च हिमाली तथा पहाडी भेगमा शनिवार हिमपात भएको छ । भारी हिमपातको कारण दोलखा र सिन्धुपाल्चोकको सिमाना खरीढुङ्गा र मूडेमा शनिवार बेलुकासम्म यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अञ्जन कोईरालाले बताए ।
सदरमुकाम चरिकोटमा पनि शनिवार साँझ ६ः३० बजेदेखि झण्डै एक घण्टा हिमपात भएको थियो । कालिञ्चोक, शैलुङ, चेर्दुङ लगायतको क्षेत्रमा पनि शनिवार भारी हिमपात भएको छ ।
प्रमुख धार्मिक एवं पर्यटकीय केन्द्र कालिञ्चोकमा यो बर्ष शुक्रवार पहिलो पटक हिमपात भएको थियो । शुक्रवार साँझ चार बजेबाट सुरु भएको हिमपात शनिवार रातिसम्म पनि कायमै रहेको सुनपाती होटलका सञ्चालक हरि ओलीले बताए ।
भारी हिमपातको कारण कालिञ्चोकमा समेत यातायात अवरुद्ध भएको प्रहरी निरीक्षक कोईरालाले बताए । कोरोना संक्रमणका कारण सुस्ताएको कालिञ्चोकको होटल व्यवसाय हिमपात सुरु भएपछि बढ्ने अपेक्षा व्यवसायीहरुको रहेको ओली बताउछन् । शुक्रवार र शनिवारको हिमपात पछि झण्डै २५ सय पर्यटक कालिञ्चोक आएको सुनपातीका सञ्चालक ओलीले बताए । कुरीमा रहेका झण्डै ६० वटा साना तथा ठुला सुविधासम्पन्न होटलहरुमा पर्यटकहरुले धमाधम कोठा बुक गरेकोले पर्यटकको संख्या बढ्न सक्ने व्यवसायीहरुको अनुमान छ ।

सम्बन्धित समाचार