जुम्ला/जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ५ स्थित चन्दननाथ मन्दिरबाट २०७३ साल मंसिर ११ गते चोरी भएको थप केहि पुरातात्विक मूर्ति सहित तीन जनालाई सोमवार प्रहरीले पक्राउ गरेको छ ।
सोमवार विहान १०ः १५ बजे विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष प्रहरी टोलि र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको संयुक्त प्रहरी टोलिले चाँदी जस्तो देखिने धातुको दुई थान मूर्ति र उक्त चोरीमा संलग्न तीन जनालाई पक्राउ गरिएको जुम्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनु भयो ।
चन्दननाथ नगरपालिका वडा नम्बर १० बोहोरा गाँउ स्थित सुशिल विष्टको जग्गामा रहेको सुकेको घाँसको थुप्रोको बीचमा खादामा बेहेरेको अवस्थामा चन्दननाथ मन्दिरबाट चोरी भएको मध्य दुई थान चाँदीको जस्तो देखिने धातुको मूर्ति फेला परेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनु भयो ।
मूर्तिसंगै घटनामा संलग्न रहेको आशंकामा चन्दननाथ नगरपालिका वडा नम्बर १० बस्ने बर्ष ३२ को सुशील विष्ट, तातोपानी गाँउपालिका वडा नम्बर ८ घर भै हाल चन्दननाथ नगरपालिका वडा नम्बर १० बस्ने बर्ष २८ को जयलाल थापा र चन्दननाथ नगरपालिका वडा नम्बर १० बस्ने बर्ष २३ को सुदिप रावललाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनु भयो ।
मन्दिरबाट मुर्ति चोरी भए लगतै बिभिन्न धातुको मूर्तिहरु र मन्दिरका पुजारी चन्दननाथ नगरपालिका वडा नम्बर १ का चन्द्रमोलेश्वर गिरी भन्ने चन्द्रप्रसाद आचार्य र वडा नम्बर १ कै कृष्ण आचार्य पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले आर्थिक बर्ष ०७७÷०७८ मा बिभिन्न मुद्दामा अदालतबाट दोषि ठहर भएका फरार अपराधिहरु २४ जनालाई पक्राउ गरी जुम्ला जिल्ला अदालतमा पेश गरेको र उनीहरुबाट ४३ लाख एक हजार सात सय ९७ रुपैया आठ पैसा जरविाना र १५ बर्ष तीन महिना २१ दिन कैद अशुली गरिएको तथा अनुसन्धानको क्रममा फरार अभियुक्त २३ जना पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनु भयो ।
![](https://aajakodainik.com/wp-content/uploads/2020/10/120610742_949759162178062_5817182857686927868_o-1024x512.jpg)
प्रतिक्रिया दिनुहोस्