दोलखा/गौरीशङ्कर संरक्षण क्षेत्रले कोरोना संक्रमणको प्रतिरोधसंगै बन्यजन्तु, बनस्पति तथा वातावरण संरक्षणको कामलाई प्रभावकारी बनाउन ‘बन्यजन्तु बचाउ तथा पर्यावरणीय वातावरण व्यवस्थापन’ (स्वामी) अभियान सुरु गर्ने भएको छ ।
कोरोना संक्रमणका कारण आर्थिक तथा जनसक्ति व्यवस्थापनमा चुनौती खेप्दै आएको गौरीशङ्कर संरक्षण क्षेत्रले १४ औ राष्ट्रिय संरक्षण दिवसको अवसरमा स्वामी अभियान घोषणा गरेको हो । स्वामी अभियानमा विशेषगरी पत्रकारहरुलाई आयोजनाको बारेमा जानकारी गराउने र प्रचार अभियानमा सहभागि हुन अनुरोध गर्ने आयोजना प्रमुख सत्यनारायण शाहले बताउनु भयो ।
१० बर्ष अघि सन् २०१० को जनवरीमा सिन्धुपाल्चोक र रामेछापका केहि भाग सहित दोलखाको विगु, कालिञ्चोक र गौरीशङ्कर गाँउपालिकाको भू– भाग समेटेर ८४१ वर्गमाईल क्षेत्रफलमा गौरीशङ्कर संरक्षण क्षेत्र निर्माण गरिएको थियो । त्यस यता आयोजनाले संरक्षण क्षेत्र भित्र हिम चितुवा, सुनौलो विरालो, रेड पाण्डा, ब्वाँसो, कस्तुरी लगायत आठ वटा दुर्लभ बन्यजन्तु, यार्सा गुम्बा, रतुवा जस्ता वनस्पतिको पहिचान सहित त्यसको प्रचार प्रसार तथा संरक्षण, संम्र्बद्धनको काम गर्दै आएको छ ।
दुर्लभ बन्यजन्तुको संरक्षण तथा संम्र्वद्धन गर्दै पर्यावरण जोगाउने र संरक्षण क्षेत्रमा पर्यटन आगमनमा बृद्धि गर्ने उदेश्य सहित होम स्टे लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको संरक्षण क्षेत्रमा पछिल्ला दिनमा कोरोना संक्रमणका कारण आर्थिक तथा जनशक्ति व्यवस्थापनको चुनौतीपूर्ण अवस्थामा रहेकोले सबैको साथ र सहयोग सहित संरक्षण क्षेत्रलाई पूर्ववत अवस्थामै अगाडि बढाउन स्वामी अभियान घोषणा गरिएको आयोजना प्रमुख शाहको भनाई छ ।
स्वामी अभियानमा सुरुमा पत्रकारहरुलाई अभियानको सदस्य बनाउने र समाचार, रिर्पोट, स्थलगत भ्रमण आदीका माध्यमबाट प्रचार अभियानमा सहभागि हुन अनुरोध गर्ने, संरक्षण भित्र रहेका २५ वटा विद्यालयका विद्यार्थी तथा शिक्षक गरी झण्डै दुई हजार पाँच सयलाई अभियानको सदस्य बनाई चेतना मुलक कार्यक्रम सञ्चालन गर्ने र समग्रमा पहिलो चरणमा संरक्षण क्षेत्र रहेको तीन जिल्लाको झण्डै ४० हजारलाई अभियानको सदस्य बनाई चेतना मूलक कार्यक्रममा सहभागि गराउर्ने आयोजना प्रमुख शाहले बताउनु भयो ।
आयोजनालाई आर्थिक रुपमा सवल बनाउन र स्थानिय सरकारको समेत अपनत्व हुने बातावरण बनाउन आयोजना क्षेत्र भित्र पर्ने नगर एवं गाँउपालिका तथा वडा पालिकाहरुलाई बन्यजन्तु, वनस्पति र पर्यावरण संरक्षणका बिभिन्न कार्यक्रमहरुमा सहभागि गराउने आयोजना प्रमुख शाहको भनाई छ ।
राष्ट्रिय संरक्षण दिवसमा पुरस्कार
संरक्षण क्षेत्रले १४ औ राष्ट्रिय संरक्षण दिवसको अवसरमा सामुदायीक रेडियो प्रशारक संघको केन्द्रीय कोषाध्यक्ष पत्रकार लक्ष्मण खड्का, दोलखाको गौरीशङ्कर गाँउपालिकाका प्रमुख स्वयम बहादुर खड्का, इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुनजित तमाङ र रामेछाप जिल्ला गोकुलगंगा गाँउपालिका वडा नम्बर १ चुचुरेको संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई संरक्षण पुरस्कार प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्