मुख्य समाचारयो पनि

कालिञ्चोक र शैलुङमा बाक्लो हिमपात

दोलखा/दोलखाको उच्च पहाडी भेग कालिञ्चोक र शैलुङमा यो बर्ष दोस्रो पटक हिमपात भएको छ । मंगलवार दिउँसो दुई बजेपछि बाक्लै हिमपात भएको स्थानीयले बताएका छन् ।

यो बर्ष गत माघ १५ गते कालिञ्चोक र शैलुङमा पहिलो पटक हिमपात भएको थियो । कालिञ्चोकमा गत माघ १५ गते यो बर्ष पहिलो पटक सामान्य हिमपात भएपनि दोस्रो पटक मंगलवार दिउँसो २ः३० देखि बाक्लै हिमपात भएको कालिञ्चोकको कुरीमा रहेको सुनपाती होटलका विमल ओझाले बताए ।

देशकै प्रमुख धार्मिक एमव् पर्यटकीय केन्द्र बनेको कालिञ्चोकमा हिउँ खेल्नकै लागि माघ– फागुनमा नेपालका बिभिन्न जिल्ला तथा भारतबाट समेत धेरै पर्यटक पुग्ने गरेका छन् ।

३८४२ मीटर उँचाईमा रहेको कालिञ्चोकबाट गौरीशङ्कर लगायतका हिमश्रृङ्खलाहरु समेत हेर्न सकिन्छ ।

शैलुङमा पनि हिमपात

दोलखाकै अर्को महत्वपूर्ण धार्मिक एवम् प्राकृतिक पर्यटकीय केन्द्र शैलुङ क्षेत्रमा पनि मंगलवार दिउँसो दुईबजे पछि बाक्लो हिमपात भएको स्थानीय दिपेश श्रेष्ठले बताएका छन् ।

३१४६ मीटर उँचाईको शैलुङमा सयवटा थुम्का रहेका छन् । शैलुङको थुम्का र मिनि ग्रटवाल हेर्न शैलुङ क्षेत्रमा दैनिक धेरै पर्यटक पुग्ने गरेको स्थानीय दिपेश श्रेष्ठको भनाई छ । हिमपात पछि यो क्षेत्रमा देशी तथा विदेशी पर्यटकको आगमन बढ्ने स्थानीय बताउछन् ।

शैलुङ क्षेत्रबाट गौरीशङ्कर हिमश्रृङ्खला हेर्न र यो क्षेत्रमा रहेको महादेव थान, भीमसेन तरवार, धर्मढोका, गुफा लगायतका धार्मिक स्थलहरु घुम्न समेत दैनिक धेरै पर्यटक आउने गरेको श्रेष्ठ बताउछन् ।

सम्बन्धित समाचार