अर्थ र ब्यापारकृषि र सहकारी

१० दिने होजियारी तालिम सम्पन्न

दोलखा/ दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर- २, राम्पामा सञ्चालित १० दिने हाते होजियारी तालिम सम्पन्न भएकाे छ। श्री त्रिपुरा सुन्दरी सामुदायिक सिकाई केन्द्रले गत असोज १६ गतेदेखि तालिमकाे आयाेजना गरेकाे थियाे। तालिम समापनकै अवसरमा सिकाई केन्द्रको साधारण सभा समेत सम्पन्न भएको छ।

सिकाई केन्द्रकी अध्यक्ष अनिता थामीको अध्यक्षतामा भएकाे साधारण सभामा केन्द्रकी परिचारिका (स्रोत व्यक्ति) दिलमाया थामीले केन्द्रको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। तालिम समापन कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नम्बर- २ का वडा सदस्य देवेन्द्र थामी, सामाजिक अभियन्ता अजय प्रधान, त्रिपुरा सुन्दरी आधारभूत विद्यालयका प्रधानाध्यापक प्रमिला थामी, विद्यालय व्यवस्थापन समिति सदस्य निशा थामि, सिकाई केन्द्रका पूर्व अध्यक्ष सन्त लक्ष्मी थामी, मुख्य प्रशिक्षक दुर्गा श्रेष्ठ,केन्द्रकी परिचारिका दिलमाया थामी, मौसमी थामी र तालिमका सहभागीहरूको तर्फबाट अबिना थामीले मन्तव्य व्यक्त गर्नु भएकाे थियाे।

तालिम अवधिभर सहभागी महिलाहरूले बुनेका टोपी, मफलर तथा मोजाहरू समापन समारोहमा प्रदर्शनीका लागि राखिएको थियो। थामी समुदायका महिलाहरूले छोटो समयमै निकै आकर्षक र गुणस्तरीय सामग्रीहरू तयार पारेको भन्दै अतिथिहरूले खुसी व्यक्त गरे। कार्यक्रममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने प्रशिक्षकहरू दुर्गा श्रेष्ठ र सन्त लक्ष्मी थामीलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो।

सम्बन्धित समाचार