रामचन्द्र गिरी
दोलखा /दोलखा जिल्ला भिमेश्वर नगरपालिका–५ नं. वडा कार्यालयको आयोजना तथा सुमेरु सिटी अस्पताल, पुल्चोक ललितपुरको प्राविधिक सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। नगरपालिकाले स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले उक्त शिविर आयोजना गर्न लागिएको वडा अध्यक्ष बासु श्रेष्ठले जानकारी दिए।
निःशुल्क स्वास्थ्य शिविर यहि पुष २६ गते बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म भिमेश्वर नगरपालिका–५ माटी मा सञ्चालन हुनेछ। शिविरमा विभिन्न रोगहरूको निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा प्रदान गरिने जनाइएको छ। शिविरमार्फत विशेषगरी मिर्गौला सम्बन्धी रोग, जनरल सर्जरी, महिला तथा प्रसूति रोग, सामान्य मेडिसिन तथा फिजिसियन सेवा उपलब्ध हुनेछ। शिविरमा मृगौला पत्थरी , मृगौला संक्रमण, प्रोस्टेट समस्या, पिसाब नली संक्रमण, पिसाब पोल्ने समस्या, अनियमित तथा असामान्य पिसाब, थाइराइड, पेट दुख्ने तथा ग्यास्ट्रिक समस्या, घाँटी, छाती दुख्ने, ज्वरो आउने जस्ता सामान्य रोगको जाँच तथा उपचार गरिने बताइएको छ।
त्यस्तै, महिलासम्बन्धी रोग अन्तर्गत महिनावारी गडबडी, पाठेघरको समस्या, पीसीओएस रोगको पहिचान जाँच तथा परामर्श सेवा पनि उपलब्ध हुनेछ। यसका साथै सामान्य मेडिसिन तथा फिजिसियन सेवाअन्तर्गत सुगर, प्रेसर, थाइराइड, मुटुसम्बन्धी समस्या, टाउको दुख्ने, ज्वरो आउने लगायतका रोगको परीक्षण गरिनेछ। हाडजोर्नी सम्बन्धी समस्या, ढाड, कम्मर, घुँडा तथा खुट्टाको दुखाइ, पैतालाको दुखाइ जस्ता समस्याको उपचारसमेत गरिनेछ।
शिविरमा आवश्यकताअनुसार विशेषज्ञ चिकित्सकबाट परामर्श, औषधि वितरण तथा स्वास्थ्यसम्बन्धी परामर्श सेवा निःशुल्क प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी बताए। भिमेश्वर नगरपालिका–५ नं. वडा कार्यालयले सम्पूर्ण स्थानीय बासिन्दालाई यस अवसरको अधिकतम लाभ लिन शिविरमा उपस्थित हुन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्