कृषि र सहकारीसमाचार

दोलखाको राम्पामा १० दिने होजियारी तालिम

दोलखा/ दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर- २, राम्पामा १० दिने हाते होजियारी तालिम सुरु भएको छ । श्री त्रिपुरा सुन्दरी सामुदायिक सिकाई केन्द्रको आयोजनामा शुक्रबारबाट उक्त तालिम सुरु भएकाे हो ।

खेतीपातीको काम नभएर फुर्सदको समयमा रहेका स्थानीय गृहिणीहरू र अति सीमान्तकृत थामी समुदायको बाहुल्यता रहेको राम्पा डोकथलीका महिलाहरूलाई लक्षित गरी आयोजना गरिएको तालिममा १५ जना स्थानीय महिलाहरूको सहभागिता रहेको आयाेजकले जनाएकाे छ ।

तालिम उद्घघाटन कार्यक्रम श्री त्रिपुरा सुन्दरी सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष अनिता थामीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा भीमेश्वर नगरपालिका वडा नम्बर- २ का वडा सदस्य देवेन्द्र थामीले सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो । विशेष अतिथि सामाजिक अभियन्ता अजय प्रधानले सामुदायिक अध्ययन केन्द्रको काम कर्तव्य, होजियारी तालिमको महत्त्वमाथि प्रकाश पार्नुभयो । उहाँले तालिमको व्यावहारिक पाटो र यसलाई भविष्यमा कसरी आयआर्जन र व्यावसायिकतासँग जोड्न सकिन्छ भन्ने विषयमा महत्त्वपूर्ण मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सिकाई केन्द्रकी स्रोत व्यक्ति दिलमाया थामीले आमन्त्रित अतिथि तथा सहभागीहरूलाई स्वागत मन्तव्य संगै तालिमको बारे प्रकाश पार्नु भएकाे थियो ।

उद्घघाटन कार्यक्रममा जीवन विज्ञान योगका योग प्रशिक्षकहरू कालिका पाण्डे र बिनु श्रेष्ठका साथै विद्यालयका शिक्षकहरूको समेत उपस्थिति रहेको थियो । असोज २५ गतेसम्म सञ्चालन हुने तालिमको मुख्य प्रशिक्षकमा दुर्गा श्रेष्ठ रहनुभएको छ ।

सम्बन्धित समाचार