दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ७ मा रहेको कुटिडाँडा माध्यामिक विद्यालयले विद्यार्थीहरुको लागि बस सेवा सुरु गरेको छ । भारतीय दूतावासले विद्यालयलाई बस उपलब्ध गराएपछि विद्यार्थीहरुको लागि बस सेवा सुरु गरिएको हो ।
कक्षा १२ सम्म सञ्चालनमा रहेको कुटिडाँडा माध्यामिक विद्यालयमा चार सय विद्यार्थी रहेका छन् ।
बस सेवाको शुभारम्भ पूर्व संस्कृति तथा पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले गर्नु भएको थियो । सो अवसरमा मन्तव्य व्यक्त गर्नुहुदै पोखरेलले बस सेवाले विद्यार्थीहरुलाई विद्यालय आवत– जावतमा सहज हुने उल्लेख गर्नुहुदै यसले शैक्षिक सुधारमा समेत टेवा पुग्ने बताउनु भयो ।
भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरले विद्यालयहरुमा उपलब्ध हुने भौतिक सुविधाले विद्यार्थी संख्या र शैक्षिक गुणस्तरमा सहयोग पुग्ने बताउनु भयो ।
वडा नम्बर– ७ का वडा अध्यक्ष विनोद तमाङले बस सेवाले विद्यार्थीहरुको सहजतासंगै विपन्न विद्यार्थीको पहुँच बृद्धि गर्ने विश्वास व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्