दोलखा/गत भदौ २३ र २४ गतेको आन्दोलन पछि चर्चामा आएको जेन– जी (जेनेरेशन जेड) अभियन्ताहरु दोलखामा पनि बिभिन्न रचनात्मक काममा सक्रिय बनेका छन् ।
उनीहरुले बजार सरसफाई, सवारी साधनमा ट्राफिक तथा भाडादर सचेतना, कार्यालयहरुले अवलम्बन गर्नुपर्ने सुशासन तथा सेवाग्राहीहरु संगको व्यवहार सम्बन्धि सचेतना लगातका अभियान सञ्चालन गरिरहेका छन् ।
विहिवार जेन– जी सम्बद्ध युवाहरुले दोलखा सदरमुकाम चरिकोटको सडक विभाग कार्यालय देखी बसपार्कसम्म सरसफाई गरेको यसका अगुवाहरुले बताएका छन् ।

यस अघि असोज १ गते उनीहरुले भीमेश्वर नगरपालिका वडा नम्बर– ३ चरिघ्याङ स्थित फुटसल जाने बाटोदेखी चरिघ्याङ गुम्बासम्म सरसफाई गरेका थिए । सरसफाई अभियानलाई हरेक हप्ता निरन्तरता दिने जेन– जी अभियन्ताहरुको भनाई छ ।
जेन– जी अभियान अन्र्तगत बिभिन्न कार्यालयहरुमा हुनसक्ने ढिलासुस्ती, अनियमितता जस्ता कुरामा सचेतना अभियान सञ्चालन गर्ने, बजार सरसफाई, चाँडपर्वमा सवारी साधनबाट हुनसक्ने भाडादर अनियमितताको अनुगमन गर्ने जस्ता कामहरु हुने अभियन्ताहरुको भनाई छ ।
उनीहरुको अभियानमा सुरक्षा निकाय, भीमेश्वर नगरपालिका, दोलखा उद्योग बाणिज्य संघ, चेम्बर अफ कर्मश, स्थानीय लगायतले सहयोग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्