बागमतीमुख्य समाचारसमाचार

गोंगर खोलामा बाढी

दोलखा/दोलखाको विगु गाँउपालिका वडा नम्बर– १ स्थित गोंगर खोलामा विहिवार दिउँसो ४ बजे तिर एक्कासी बाढी आएपछि आसपास सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ ।

करिब १५ मिनेट आएको बाढीले ठुला– ठूला ढुङ्गाहरु बगाएर ल्याएको स्थानीयले बताएका छन् । साँझसम्ममा पानीको सतह घटेकोले जोखिम कम भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना कर्मचारी युनियनका महासचिव राजकुमार श्रेष्ठले बताउनु भयो ।

गोंगर खोला वारी माथिल्लो तामाकोशी आयोजनाको प्लान्ट कार्यालय रहेको छ भने पारी माथिल्लो तामाकोशी आयोजनाको पावर हाउसको पोटल गेट र केही तल गोंगर बजार रहेको छ । गोंगर खोलाको पुल नजिक विगु गाँउपालिका वडा नम्बर– १ को वडा कार्यालय र प्रहरी चौकी रहेको छ ।

गोंगर खोलाको माथि विजुलीडाँडाबाट एक्कासी ठूला– ठूला ढुङ्गा सहित बाढी आएपछि आयोजनाको प्लान्ट कार्यालयका कर्मचारी र गोंगर बजारका स्थानीय केही समय बाहिर निस्किएका थिए । केही समय भुकम्प आएजसरी बाढी आएको आयोजनाको कर्मचारी युनियनका महासचिव श्रेष्ठले बताउनु भयो ।

गोंगर खोलामा आएको बाढीले अहिलेनै तामाकोशी आयोजनाको प्लान्ट कार्यालय र पावर हाउस जाने पोटल गेटमा कुनै जोखिम नभएको आयोजनाका कर्मचारीहरुले बताएका छन् ।

थोरै समयमात्र बाढी आएकोले अहिले प्रहरी चौकी र वडा कार्यालयमा समेत जोखिम नभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताउनु भयो ।

सम्बन्धित समाचार