धर्म/संस्कृतियो पनि

लोपोन्मुख सुरेल जातिः पानी माग्दै उभौली पर्व

दोलखा/सबैभन्दा कम जनसंख्या भएको लोपोन्मुख सुरेल जातिले बालिनाली राम्रो होस भन्दै भुमे देवतासंग पानी मागेर सोमवार उभौली पर्व मनाएका छन् । हरेक बर्ष चण्डीपूर्णेको दिन नाचगान सहित रमाईलो गर्दै भुमी पुजा गरेर उभौली पर्व मनाउने प्रचलन रहेको सुरेल जातिको जेष्ठ सदस्य ८७ बर्षिय हरीकुमारी सुरेलले बताउनु भयो ।
बैशाख– जेठमा भित्राईने गहँ बालीको सिजनमा प्रत्येक घरको सुरेल समुदायले सुद्ध गरेर गहँुको जाँड बनाउने र चण्डी पूर्णेको दिन त्यहि गहुँको जाँड सहित भुमे देवताको पुजा गरी उभौली पर्व मनाउने प्रचलन रहेको सुरेल जाति उत्थान समाजका अध्यक्ष प्रल्हाद सुरेलले बताउनु भयो । उभौली पर्वको भोलीपल्ट मंगलवार चन पुजा गरिएको उहाँले बताउनु भयो ।
उभौली पर्वको दिन नयाँ लगाईने बालिहरु राम्रो होस भनेर पानी माग्दै २४ ठाँउमा गहुँको जाड, कुखुरा र चरा राखेर नाक्सो (पुजारी) र ङायीगा (धुपौरे) ले भुमे देवताको पुजा गर्ने प्रचलन रहेको सुरेल जाति उत्थान समाजका अध्यक्ष प्रल्हाद सुरेलको भनाई छ । सो क्रममा झाँक्रिहरुले जोखाना हेर्ने प्रचलन रहेको छ ।
भुमे पुजा गर्नुअघि झाँक्रीको घरबाट बेलपाती ल्याउने र ङायीगा (धुपौरे) को घरबाट झारी ल्याउने प्रचलन समेत रहेको स्थानीयको भनाई छ । त्यसैगरी सुरेल समुदायको प्रत्येक घरले भुमे मन्दिरमा सुद्धसंग बनाएको गहुँको जाँड ल्याउने प्रचलन रहेको स्थानीय बताउछन् । सुरेल जातिले भुमे पुजा गर्नु अघि इविथानको पुजा गर्ने प्रचलन समेत रहेको छ ।
भुमे पुजा सकिएपछि भुमेथानमा जम्मा भएका सुरेल समुदाय र छिमेकीहरु समेत मिलेर गहुँको जाँड, सेलरोटी, आलुको तरकारी लगायतका परीकार खादै नाचगान सहित रमाईलो गर्ने प्रचलन रहेको सुरेल जाति उत्थान समाजका अध्यक्ष प्रल्हाद सुरेलले बताउनु भयो ।
दोलखा जिल्लाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ५ सुरीमा मात्र बसोबास रहेको सुरेल जातिको जनसंख्या दुई सय ३१ रहेको छ । सुरेलको जनसंख्या ३ सय १८ रहेपनि भारतमा बसोबास गर्ने ८५ जनाले मुखिया लेख्ने र दुई जनाले जागिर खानेबेला सुनुवार लेखेकोले लोपोन्मुख जातिलाई सरकारले दिदै आएको भत्ता दुई सय ३१ जनाले पाउने भएकोले त्यहिनै सुनुवारको जनसंख्या मानिएको अध्यक्ष प्रल्हाद सुनुवारको भनाई छ ।

oplus_0


सुरेलहरुको ५० घर सुरीमा, ७ घर सुम्नामा र ३ घर खारेखोलामा रहेको अध्यक्ष प्रल्हाद सुरेलको भनाई छ ।
सुरेल जाति कसरी रहन गयो भन्ने तथ्यगत प्रमाण नभएपनि एउटा किम्वदन्ति भने प्रचलनमा रहेको छ । किम्वदन्ति अनुसार ससुरा ज्वाई बासे (ससुरा) र वीरबल (ज्वाई) भोटबाट शिकार खेल्दै सुरी आसपास आईपुगे । सोहि समय एकजना माझिको बच्चा एउटा शेर्पाले अपहरण गरेर लगेको थियो । बासे र वीरबलले शेर्पाबाट उक्त बच्चालाई मुक्त गरी माझिको जिम्मा लगाई दिए ।
ससुरा ज्वाईको उक्त कार्यबाट खुशी भएका माझिहरुले ती दुईलाई सूर्यबंशी भन्दै तेरमुफ (टिम्मुर वारी) दिएर बस्ने व्यवस्था गरे । उनीहरु माझिहरुसंगै बसेकै बेला कोठामा थुनेर राखेको एउटा माझिको छोरी गर्भवती भईन । उक्त गर्भ सूर्यबंशीहरु बाटै रहन गएको माझिहरुले आरोप लगाए । यसरी माझि र सूर्यबंशीको गर्भबाट भएको सन्तान सुरेल भए ।
भोटबाट ससुरा ज्वाई बासे र वीरबल कहिले आए भन्ने तथ्यगत प्रमाण नभएपनि जङ्गबहादुर राणाको शासन कालमै सुरेलको नाममा लालमोहर लागेको कागजात रहेको सुरेल जाति उत्थान समाजका पूर्व अध्यक्ष सुवास सुरेल बताउनु हुन्छ । यस तथ्यबाट सुनुवार र सुरेल एउटै हैन भन्ने पुष्टि हुने सुरेल समुदायको भनाई छ ।

सम्बन्धित समाचार