बागमतीमुख्य समाचारसमाचार

टाेपाटार पहिरो अपडेट- दुईको मृत्यु, दुई बेपत्ता

दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर ७ मार्बु टोपाटारमा विहिवार राति गएको पहिरामा परी एक बालक सहित दुई जनाको ज्यान गएको छ भने अर्का दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
अविरल बर्षाको कारण विहिवार बेलुका आएको पहिरोमा परी टोपाटारका कृष्ण बहादुर मगर, उनको श्रीमती देवीमाया मगर, हरिलाल श्रेष्ठ र तीन बर्षको बालक प्रिन्स थामी बेपत्ता भएकोमा शुक्रवार देवीमाया मगर र सिता थामीको छोरा तीन बर्षको प्रिन्स थामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनु भयो ।
पहिरोले स्थानीय कृष्णबहादुर मगरको घर पुरै बगाएको तथा हरिलाल श्रेष्ठ, यज्ञ थामी, टपेन्द्र गुरुङ र घनश्याम खत्रीको घरमा समेत पूर्ण रुपमा क्षति पुगेको वडा नम्बर ७ का वडा अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनु भयो । पहिरोमा परी यज्ञ थामी, उनको श्रीमती धनकुमारी थामी तथा बुहारी सिता थामी घाईते भएको वडा अध्यक्ष शेर्पाले बताउनु भयो ।
घाईते तीनै जनालाई उपचारको लागि काठमाडौँको केएमसी अस्पताल लगिएको प्रहरीले जनाएको छ । घाईते यज्ञ थामी र उनको श्रीमती धनकुमारी थामीलाई हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो भने बुहारी सिता थामीलाई स्थानीय अस्पतालमा प्राथामिक उपचार पछि एम्बुलेन्सबाट थप उपचारको लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।
केएमसीमा उपचाररत विरामीको अवस्थाबारे जानकारी लिन पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, संघिय सांसद गंगा कार्की, प्रदेश सांसद कुन्दनराज काफ्ले, भरत केसी लगायत बिभिन्न दलका नेताहरु पुगेका थिए । विरामीको अवस्था नाजुक रहेको संघिय सांसद गंगा कार्कीले बताउनु भयो ।
विहिवार वडा नम्बर ८ सल्लेको ठाडोखोलामा बाढी आएर पहिरो गएको थियो । पहिरोले वडा नम्बर ८ सल्लेको ३०÷३२ घर उच्च जोखिममा रहेको स्थानीय समाजसेवी कुमार तमाङले बताए । सल्लेबाट सुरु भएको पहिरोलेनै टोपाटारको घर बगाएको तमाङको भनाई छ । अहिले जनपथ प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलिले खोज तथा उद्धारको काम गरिरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो ।
यसै बीच संघिय सांसद इश्वरी रिजालले दोलखाको गौरीशङ्कर गाँउपालिकामा पहिरोमा परी मृत्यु भएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाईतेको निशुल्क उपचार र घरवार विहिनलाई राहत तथा पुर्नस्थापनाको व्यवस्था गर्न सरकारसंग माग गर्नु भएको छ ।

सम्बन्धित समाचार