मुख्य समाचारसमाचार

दिलिपको पीडा- पैसा नभएर प्लास्टिक ओढाएका छन् घरमा

दोलखा/त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको एक सय किलो सुन नेपाल ल्याउने रेडी ट्रेड प्रालिका सञ्चालक भनिएका दिलिप भुजेलको परिवारलाई दैनिक दुई छाक खान समेत मुश्किल छ । दिलिप भुजेल स्वयम काठमाडौँमा आफन्तको चाउ चाउ उद्योगमा मजदुरी गर्ने उनको आमा कल्पना भुजेलले बताउनु भयो ।
दोलखाको मेलुङ १ पवटी विसौनीका दिलिपको घरमा आमा कल्पना भुजेल, श्रीमती र भाइ बस्दै आएका छन् । आफ्नो र अध्यामा कमाएको गरी झण्डै तीन रोपनी जग्गामा सामान्य खेती पाती गरेर गुजारा गर्दै आएका उनको परिवार घरमा छाना छाउने पैसा नभएर राहतमा पाएको प्लास्टिकले ओताएर बसिरहेको स्थानीय बताउछन् ।
हामीलाई यहाँ दुईछाक पेटभरी खान मुश्किल छ, दिलिप आफैपनि काठमाडौँमा डेरा वहाल तिर्ने पैसा नभएर आफन्तकोमा मजदुरी गर्दै बस्दै आएको छ अब कसरी उसले एक सय किलो सुन ल्याउन सक्छ – आमा कल्पना भुजेलले भन्नु भयो । आफ्नो गरीव छोरोलाई कसैले फसाएको कल्पनाको आरोप छ ।
दिलिपको बुबा रामबहादुर भुजेल पनि काठमाडौँमै मजदुरी काम गर्छन । दिलिप पनि आर्थिक अवस्था कम्जोर भएकै कारण गाँउमै ११ कक्षा पढ्दा पढ्दै एक बर्ष अघि काठमाडौँमा मजदुरी गर्न गएको आमा कल्पना भुजेलले बताउनु भयो । दिलिप भुजेल एक बर्ष अघि काठमाडौँ गएपछि सुरुमा इट्टाभट्टामा काम गरेका थिए । पछि ठूलो बुबाकोमा बसेर उनैको चाउ चाउ उद्योगमा काम गर्न लागेको कल्पना भुजेलले बताउनु भयो ।
एक बर्ष अघि दिलिपले विवाह गरेपछि घरमा दैनिक गुजारा गर्न झन समस्या भयो । बाबुले मजदुरी गरेर पठाएको पैसालेमात्र गुजारा नचल्ने भएपछि उ पनि पढाईनै छोडेर मजदुरी गर्नकै लागि काठमाडौँ गएको हो – आमा कल्पनाले भन्नु भयो ।
अहिले छोरालाई एक सय किलो सुन ल्याएको आरोपमा प्रहरीले समाएको छ भनेको सुनेर छक्क परेको छु– उहाँले भन्नु भयो । आफुहरुले जीवनमा कहिल्यै एक तोला सुन नदेखेको बताउनुहुने कल्पना भुजेल छोराले एक सय किलो सुन ल्यायो भनेको खबर सुन्दा ज्यादै पीडा भएको बताउनु हुन्छ । मेरो निर्दोस छोरालाई फसाउन खोजिएको छ, सबैले उसलाई सहयोग गर्नुपर्छ– कल्पना भुजेलले भन्नु भयो ।

सम्बन्धित समाचार