अर्थ र ब्यापारबागमतीसमाचार

पानीको सङ्कट टार्न धारा र ट्याङ्की निर्माण

दोलखा/दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर ३, ४ र ८ मा खानेपानीको चरम सङ्कट रहेको स्थानीयले गुनासो गरेका छन् । अहिले वडाको केही टोलमा भने खानेपानीको सहज आपूर्तिको लागि लुथरन वल्ड फेडेरेसनको आर्थिक सहयोग एवं मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपालको समन्वयमा धारा तथा ट्याङ्की निर्माण भएका छन् ।
पिउने पानीको चरम समस्या भोगीरहेको कालिञ्चोक – ३ पोखरेमा नौ वटा धारा निर्माणको लागि पोखरे खानेपानी योजनालाई हुराडेकले लुथरन वल्ड फेडेरेसन मार्फत दुई लाख ७५ हजार रुपैया सहयोग उपलब्ध गराएको अध्यक्ष उद्धव पोखरेलले जानकारी दिनु भयो ।
यो टोलमा जुकेपानी मुहानबाट बैकल्पिक उर्जा प्रबन्धन केन्द्रको सहयोगमा रिर्जभ ट्याङ्कीसम्म पानी ल्याईएको पोखरे खानेपानी आयोजनाका अध्यक्ष कुमार कार्कीले बताउनु भयो । हुराडेकको समन्वयमा प्राप्त रकमले नौ घरमा धारा निर्माण भएको र यसले स्थानीयलाई पानीको समस्या समाधानमा सहजता मिलेको अध्यक्ष कार्कीले बताउनु भयो ।
पोखरेमा वडा नम्बर ३ को कार्यालय, विद्यालय र स्वास्थ्य चौकी समेत रहेको र यहाँ पानीको निक्कै समस्या भएको स्थानीय बताउछन् । वडा नम्बर ३ को लाम्बारी, खुर्ले, बोझिनी, गोगन टोल लगायतका गाँउमा पानीको निक्कै समस्या रहेको स्थानीय बताउछन् ।
वडा नम्बर ३ का वडा अध्यक्ष दलबहादुर तमाङ वडामा खानेपानीको समस्या समाधानको लागि सानातिना सहयोग प्रयाप्त नहुने भएकोले वडाले बृहत योजना बनाएर काम गरीरहेको बताउनु हुन्छ । वडाको समन्वय विना भएका सानातिना सहयोगले खानेपानीको चरम समस्या समाधान हुनसक्दैन यसको लागि ठूलै योजना आवश्यक छ– वडा अध्यक्ष तमाङले भन्नु भयो ।
हुराडेकको समन्वयमा लुथरन वल्ड फेडेरेसनले वडा नम्बर ४ को चप्लेटीमा समेत १० वटा धारा निर्माणमा सहयोग गरेको हुराडेकका अध्यष पोखरेलले बताउनु भयो । चप्लेटी खानेपानी आयोजना मार्फत यहाँपनि दुई लाख ७५ हजार रुपैया उपलब्ध गराएको र यहाँ झण्डै चार लाख बराबरको काम भएको अध्यक्ष पोखरेलले बताउनु हयो ।
हुराडेकको सहयोगमा धारा निर्माण भएपछि अहिले चप्लेटी खानेपानी आयोजनाले प्रति परिवार ५० रुपैया शुल्क उठाएर एक जना पानी खोल्ने मान्छे राखेर व्यवस्थापन गरिरहेको आयोजनाका अध्यक्ष सुकदेव शिवाकोटीले बताउनु भयो । पानीलाई सहज बनाउन अझैपनि मुहान व्यवस्थापनको लागि आर्थिक समस्या भएको अध्यक्ष शिवाकोटीको भनाई छ ।
हुराडेकले लुथरन वल्ड फेडेरेसनसंग समन्वय गरी वडा नम्बर ८ को मानेभट्टेलीको १४ घर धुरीको लागि ट्याङ्की तथा धारा निर्माणमा सहयोग गरेको अध्यक्ष पोखरेलको भनाई छ । हुराडेक मार्फत प्राप्त दुई लाख ७५ हजार रुपैयाले झण्डै चार लाख बराबरको काम भएको डाडली टोल मानेभट्टेली खानेपानी आयोजनाका अध्यक्ष कृष्णप्रसाद शिवाकोटीले बताउनु भयो । यो टोलमा धमिरेखोलाबाट पानी ल्याउन वडाले लिफ्टिङमा सहयोग गरेको वडा अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।
लुथरन वल्ड फेडेरेसनले धारा तथा ट्याङ्की निर्माणमा सहयोग भएपछि तीन वटा वडाका केही टोलमा पानी आपूर्तिमा सहज भएको र स्थानीयले थप सहयोगको अपेक्षा गरेको हुराडेकको सामाजिक कार्यकर्ता तुलसा वसेलले बताउनु भयो ।

सम्बन्धित समाचार