धर्म/संस्कृतिबागमतीमुख्य समाचारसमाचार

कालिञ्चोकमा हिमपात

दोलखा/दोलखाको कालिञ्चोक क्षेत्रमा अहिले (सोमवार राति) हिमपात भै रहेको छ । अहिले (सोमवार) राति झण्डै १० बजेबाट हिमपात सुरु भएको कालिञ्चोक कुरीको होटल सुनपातीका सञ्चालक हरि ओलीले बताए ।
कालिञ्चोकमा यो बर्षको तेस्रो हिमपात भएको होटल सञ्चालक ओलीले बताए । झण्डै १० बजेबाट हिमपात सुरु भएको र अहिलेसम्म एक फिट जति हिँउ जमेको स्थानीयले बताए । यो बर्ष पहिलो पटक गत फागुन १३ गते दिउँसो केही घण्टा हिमपात भएको थियो । दोस्रो पटक चैत्र ४ गते दिउँसो हिमपात भएको कालिञ्चोक कुरीका स्थानीय होटल व्यवसायीहरुले बताए ।
तीन हजार आठ सय ४२ मीटर उँचाईमा रहेको कालिञ्चोकमा हरेक बर्ष पुष देखि फागुन चैत्रसम्म हिमपात हुने गरेको थियो । यो बर्ष भने फागुन दोस्रो हप्ताबाट मात्र हिमपात सुरु भएको हो । राति हिमपात सुरु भएपछि पर्यटकहरु चिसोको पर्वाह नगरी हिँउसंग रमाएको स्थानीय होटल व्यवसायीहरु बताउछन् ।
धार्मिक एवं सांस्कृतिक महत्वको कालिञ्चोक प्राकृतिक सुन्दरताको लागि समेत प्रसिद्ध छ । कालिञ्चोक भगवती मन्दिर परिसरमा जलकुण्ड समेत रहेको छ । यहाँको मुख्य विशेषता यहि जलकुण्ड हो । कालिञ्चोक टाँकुरामा अवस्थित जलकुण्डमा कतैबाट पानी आउने ठाँउ देखिदैन तर जलकुण्डको पानी हरेक मौसममा कायम रहन्छ । किम्वदन्ति अनुसार जलकुण्डबाट दाहिने तिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धारा भएर सुनकोसी बगेको छ ।
कालिञ्चोक मन्दिर परिसरमा हिमालय पर्वतकी पुत्री पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको वासस्थान भएको जनविश्वास समेत रहदै आएको छ । कालिञ्चोक क्षेत्रमा भेडागोठहरु रहेको र कालिञ्चोक मन्दिरमा सबै भेडाहरु जम्मा भएर बस्ने तथा ढुङ्गा चाट्ने गरेपछि जलकुण्ड देखिएको किम्वदन्ति समेत प्रचलनमा रहेको छ ।

कालिञ्चाेककाे कुरी

सम्बन्धित समाचार