अन्तरास्ट्रियअर्थ र ब्यापारमुख्य समाचार

चीनसंगको फलाक नाका सञ्चालनको पहल

दोलखा/दोलखासंग जोडिने चीनको फलाक नाका सञ्चालनको लागि सरकारले सडकको स्तर उन्नती र सिमा क्षेत्रको सुरक्षामा ध्यान दिनुपर्ने सरोकारवालाहरु ले बताएका छन् ।

दोलखाको विगु गाउँपालिका वडा नम्बर– १ लामाबगर स्थित फलाक नाका पुग्ने लामाबगर– फलाक ८ किलोमिटर सडक दुई नीजि जलविद्युत आयोजना सानीमा र दुगड, विगु गाउँपालिका र बागमति प्रदेश सरकारको पहलमा निर्माण भै रहेको छ । करिब ५ सय मिटर सडक निर्माण भएपछि फलाक नाकासम्म यातायात सञ्चालन हुने विगु गाउँपालिका वडा नम्बर– १ का वडा अध्यक्ष मेम बहादुर तमाङ बताउछन् । लामाबगर– फलाक ८ किलोमिटर सडक मध्य माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याम नजिक ११४५ मिटर सुरुङमार्ग निर्माण गरिएको छ ।

लामाबगरको प्रवेशमार्ग दोलखा– सिंगटी ३६ किलोमिटर र सिंगटी– लामाबगर २८ किलोमिटर सडक माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सहयोगमा निर्माण भएको हो ।

चीन– नेपाल– भारत जोड्ने सबैभन्दा छोटो त्रिदेशी मार्गको रुपमा रहेको करिब २५० किलोमिटरको सडकले चीनसंगको सिमाना दोलखाको फलाक नाकाबाट भारतसंगको सिमाना महोत्तरीको भिटामोडसम्म जोड्ने विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीले बताए ।

त्रिदेशी छोटो मार्गको रुपमा रहेको करिब २५० किलोमिटरको फलाक– भिटामोड सडक मध्य लामाबगरबाट फलाकसम्मको ८ किलोमिटर सडकको स्तरउन्नती र तामाकोशी तथा जुम खोला र लप्ची खोलामा पक्की पुल निर्माण गरियो भने चीनसंगको रसुवा र तातोपानी नाकाको विकल्मा फलाक नाका सञ्चालन हुनसक्ने स्थानीयको भनाई छ ।

चीन तर्फबाट फलाक नाकासम्म सडक आईसकेको र त्यहाँबाट झण्डै ३० किलोमिटरको दूरीमा उनीहरुको रोङसिया बजार रहेको विगु गाउँपालिका वडा नम्बर– १ का वडा अध्यक्ष मेम बहादुर तमाङले बताए ।

विगतमा फलाक नाकाबाट कुती हुदै चीनसंग व्यापार हुने भएकोले सरकारले २०२५/०२६ सालबाटै लामाबगरमा भन्सार कार्यालय स्थापना गरेको स्थानीय बताउछन् । यो कार्यालय २०४५ सालसम्म राम्रैसंग सञ्चालनमा रहेको भएपनि त्यसयता भने साईनबोर्डमा मात्र सिमित रहेको स्थानीयको गुनासो छ ।

फलाक नाकाको विषयमा अध्यनगर्न दोलखाबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल र स्मृती सेञ्चुरी, जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानी, प्रमुख जिल्ला अधिकारी, डिभिजन सडक प्रमुख, जनपथ र शसस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख, गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख लगायतको टोली स्थलगत पुगेको थियो ।

सांसद जगदीश खरेलले फलाक नाका नेपालको लागि महत्वपूर्ण रहेकोले यो नाका खुलाउन र लामाबगरबाट फलाकसम्मको सडकको स्तरउन्नतीको लागि आफुले पहल गर्ने बताए ।

डिभिजन सडक कार्यालय दोलखाका प्रमुख नारायणदत्त भण्डारीले ८ किलोमिटर सडक स्तरउन्नती पछि फलाकनाका सम्मको सडक राम्रोसंग सञ्चालन हुने अवस्था रहेको उल्लेख गर्दै सडक स्तरउन्नतीको लागि आफुले पहल गर्ने बताए ।

सम्बन्धित समाचार