बागमतीसमाचार

वडा कार्यालय भवनको उद्घाटन

दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ को वडा कार्यालय भवनको उद्घाटन शुक्रवार बागमति प्रदेशका सांसद भरत बहादुर केसीले गर्नु भएको छ । ४२ सय १० बर्ग मिटरमा निर्मित उक्त भवनको कूल लागत एक करोड १८ लाख रहेको वडा नम्बर– ५ का वडा अध्यक्ष बासु श्रेष्ठले बताउनु भयो ।
नवनिर्मित भवन उद्घाटन गर्नुहुदै बागमति प्रदेशका सांसद भरत बहादुर केसीले वडाले प्रवाह गर्ने सेवाको लागि भौतिक पुर्वाधार महत्वपुर्ण हुने बताउनु भयो । प्रदेश सांसद केसीले वडाको लागि सडक, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा जस्ता कुरामा बागमति प्रदेश सरकारको तर्फबाट सहयोग उपलब्ध गराउन आफुले थप पहल गर्ने बताउनु भयो ।


कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले वडाको विकाससंगै युवा रोजगारमा बृद्धि गर्ने कुरामा नेकपा एमालेको सधै सहयोग रहने बताउनु भयो ।
वडा नम्बर– ५ को वडा अध्यक्ष बासु श्रेष्ठको सभापतित्वमा सम्पन्न नवनिर्मित भवन उद्घाटन कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, नेकपा एमालेका नेता कृष्ण बहादुर वस्नेत, शङ्करलाल श्रेष्ठ, नेकपा एमाले भीमेश्वर नगरकमिटी अध्यक्ष भोला खतिवडा, पुर्व वडा अध्यक्ष रामबहादुर वस्नेत, वडा सदस्य बालकृष्ण कुँवर लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
साढे दुई तलाको नवनिर्मित वडा कार्यालय भवनमा वडा अध्यक्ष, सदस्यहरु, बिषयगत शाखा, प्रशासन, स्टोर, मिटिङ हल र हल रहेको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।


भवन निर्माणको लागि सुरुमा भीमेश्वर नगरपालिकाबाट एक करोड ५२ लाख रकम प्राप्त भै टेन्डर आव्हान भएकोमा ८९ लाखको टेन्डर स्वीकृत भै काम सुरु भएको र पछि २९ लाख रुपैया बजेट थप भएको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

सम्बन्धित समाचार