धर्म/संस्कृतियो पनिसमाचार

भीमा एकादशीको अवसरमा धार्मिक प्रवचन

दोलखा/भीमा एकादशी पर्वको अवसरमा दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिले भीमेश्वर मन्दिर परिसरमा धार्मिक प्रवचन एवं लघु रुद्री पाठ, पुजा तथा होम यज्ञ सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा नेपाल ऋषि प्रा. डा. जगमान गुरुङले भीमसेनको महिमाको विषयमा प्रवचन दिनु भएको थियो ।
भीमसेनको आरधनाबाट सन्तुष्ट भै आराध्य देव भगवान महादेवबाट ऋणमा परेका व्यापारीहरुलाई ऋण मुक्त गराउन सक्ने बरदान प्राप्त गरेको दिन मानिएको भीमा एकादशी पर्वमा दोलखा भीमेश्वर मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ । सोहि अवसरमा भीमेश्वरको महिमाको बारेमा प्रवचन कार्यक्रम आयोजना गरिएको दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठले बताउनु भयो ।
दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमति प्रदेशका सांसद भरतबहादुर केसी, बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, संस्कृतविद् डा. घनश्याम खतिवडा, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, पूर्व वडा अध्यक्ष विराजमान श्रेष्ठ, कानुन व्यवसायी प्रविण प्रधान लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रा. डा. जगमान गुरुङलाई अभिनन्दन समेत गरिएको थियो ।
सांस्कृतिक सम्पदा अभिलेखीकरण कार्यक्रम
यसै बीच भानु बिद्यापति साहित्य प्रतिष्ठान दोलखा र दोलखा संस्कृति प्रतिष्ठानको संयुक्त आयोजनामा सांस्कृतिक सम्पदा पहिचान, वर्गीकरण, अभिलेखन, संरक्षण र पर्यटन प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ ।
भीमेश्वर नगरपालिकाका प्रवक्ता तारानाथ चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा. डा. जगमान गुरुङ, बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, डा.घनश्याम खतिवडा, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, दोलखा संस्कृति प्रतिष्ठानका अध्यक्ष शङ्करलाल श्रेष्ठ, सचिव सुन्दर खड्का, बिर्ख क्षेत्री लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार