धर्म/संस्कृतिफोटो फिचरमुख्य समाचारयो पनिसमाचार

कालिञ्चोकमा यो बर्ष दोस्रो पटक हिमपात

दोलखा/कालिञ्चोकमा यो बर्ष दोस्रो पटक हिमपात भएको छ । बुधवार राति झण्डै तीन घण्टा हिमपात भएको स्थानीय सुनपाती होटलका स्टाफ राजन क्षेत्रीले बताए । बुधवार राति ८ बजेबाट १० बजेसम्म लगातार हिमपात भएको क्षेत्रीले बताए ।
रातभरीको हिमपात पछि विहिवार (आज) कालिञ्चोक टाँपु तथा कुरीको वातावरण निक्कै रमणीय देखिएको पर्यटकहरुले बताएका छन् । हिमपात पछि विहिवार विहानै देखि कालिञ्चोक पुग्ने पर्यटकको चाँप बढेको कुरी स्थित होटल सुनपातीका सञ्चालक एवं पर्यटन व्यवसायी हरि ओलीले बताए ।
बुधवार रातभरी हिमपात भएपछि विहिवार विहानै देखी कालिञ्चोक जानको लागि पर्यटकहरुको फोन आईरहेको छ – होटल सञ्चालक ओलीले भने । शुक्रवार र शनिवार त्यसैपनि कालिञ्चोक पुग्ने पर्यटक अत्यधिक हुनेमा हिमपात पछि यो संख्या थेगिनसक्नु हुने अनुमान होटल व्यवसायीहरुको छ ।
तीन हजार आठ सय ४२ मिटर उँचाईमा रहेको कालिञ्चोकमा गत बर्ष फागुनको दोस्रो साताबाटमात्र हिमपात भएकोमा यो बर्ष पहिलो पटक माघ २ गतेनै हिमपात भएको थियो ।
बुधवार राति अत्यधिक हिमपात भएको कारण कालिञ्चोकको कुरीसम्म गाडी पुग्न भने कठिन भएको स्थानीयले बताएका छन् । पर्यटकहरुको लागि धेरै बोलेरो गाडिहरुले टाएरमा चेन राखेर कुरीसम्म पु¥याउने व्यवस्था गरेको होटल सञ्चालक ओलीले बताए । कुरीबाट केबलकार चढेर कालिञ्चोक टाँपुसम्म पुग्न सकिने भएकोले समस्या नहुने स्थानीय होटल व्यवसायीहरु बताउछन् ।
कुरी बजार तथा आसपास अत्यधिक हिँउ रहेकोले विहिवार (आज) विहानै देखी पर्यटकहरु हिँउ खेलेर रमाईलो गरिरहेको राजन क्षेत्रीले बताए ।

सम्बन्धित समाचार