धर्म/संस्कृतिबागमतीमुख्य समाचारसमाचार

चर्नावती धाममा महायज्ञको तयारी

दोलखा/दोलखाको पवित्र धार्मिक स्थल चर्नावती धाममा निर्माण सम्पन्न भएको जेष्ठ नागरिक सेवा केन्द्र भवन सञ्चालनको लागि आयोजना गरिने महायज्ञको तयारी तिब्र पारिएको छ । आगामी जेठ महिनामा आयोजना गरिने महायज्ञको तयारीको लागि बरिष्ठ कलाकार एवं समाजसेवी मदनदास श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ ।

जेष्ठ नागरिक सेवा केन्द्र भवन निर्माण गर्ने चर्नावती त्रिवेणी विकास तथा प्रवद्धन संघले सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलनको आयोजना गरी जेठमा आयोजना गरिने महायज्ञमा प्रा. डा. कान्ता भट्टराई लगायतको सहभागिता रहने जनाएको छ । संघको अध्यक्ष गुणबहादुर बुढाथोकीले महायज्ञ सञ्चालनको लागि तयारीका कामहरु भै रहेकोले सञ्चारकर्मी लगायतलाई सहयोगको लागि आग्रह गर्नु भएको छ । पत्रकार सम्मेलनमा शैलुङ गाँउपालिकाका पूर्व अध्यक्ष एवं महायज्ञ आयोजक समितिका सदस्य सचिव भरत दुलालले जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालन तथा प्रचार– प्रसारको लागि महायज्ञ सञ्चालन गर्न लागिएको उल्लेख गर्नुहुदै त्यसको लागि सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ७ चर्नावती धाम स्थित चर्नावती सामुदायीक बनको ४० रोपनी खाली पर्ती जग्गामा जेष्ठ नागरिक सेवा केन्द्र सहित बिभिन्न संरचना निर्माण भै रहेको अध्यक्ष बुढाथोकीले बताउनु भयो । पक्की तीन तले जेष्ठ नागरिक सेवा केन्द्रमा १६ वटा आवास कोठा, एक वटा भान्सा कोठा, तीन वटा हल र पाँच वटा सौचालय कोठा रहेको चर्नावती त्रिवेणी विकास तथा प्रवद्धन संघका सचिव रामेश्वर उप्रेतीले बताउनु भयो । जेष्ठ नागरिक सेवा केन्द्रमा ४८ जनासम्म जेष्ठ नागरिक बस्न सक्ने संघका सचिव उप्रेतीको भनाई छ ।

सम्बन्धित समाचार