अर्थ र ब्यापारमुख्य समाचारसमाचार

दोलखा उद्योग बाणिज्य संघको कार्यालयमा ताला

दोलखा/अधिवेशनको तयारीमा रहेको दोलखा उद्योग बाणिज्य संघको कार्यालयमा ब्यवसायीहरुको एउटा समूहले तालाबन्दि गरिदिएका छन् । एक बर्ष पुरा नभएको सदस्यको नाम मतदाता नामावलीमा समावेश गरिएको, अल्पमतको बैठकले निर्वाचन उप समिति बनाएको र सदस्यहरुलाई साधारणसभाको सूचना समयमै उपलब्ध नभएको जस्ता आरोप सहित कार्यालयमा तालाबन्दि गरिएको हो ।
तालाबन्दि लगतै व्यवसायीहरुको एउटा समूहले प्रमुख जिल्ला अधिकारी शेखर पौडेललाई ज्ञापनपत्र बुझाउदै २३ औ साधारणसभा एवं अधिवेशन स्थगित गरी बैधानिक ढङ्गबाट अधिवेशन गर्ने बाताबरण बनाउन आग्रह गरेका छन् ।
दोलखा उद्योग बाणिज्य संघका पूर्व सचिव नारायण बहादुर श्रेष्ठ, सन्तोष रिमाल, प्रविण श्रेष्ठ लगायतका व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।
दोलखा उद्योग बाणिज्य संघका पूर्व सचिव नारायणबहादुर श्रेष्ठ विधान अनुसार १९ जनाको कार्यसमिति मध्य कम्तिमा १० जना उपस्थित भएपछिमात्र निर्वाचन उप समिति बनाउनुपर्नेमा नौ जनाको उपस्थितिमै समिति बनाएको, थप गरिएको एक सय पाँच जना नयाँ सदस्यको हकमा विधान अनुसार एक बर्ष पुरा भएपछि मात्र मतदाता नामावलिमा नाम समावेश हुनुपर्नेमा एक बर्ष नपुगि नाम समावेश गरिएको, साधारण सभाको सूचना समयमै सदस्यहरु सम्म नपुगेको जस्ता कारणले संघको कार्यालयमा तालाबन्दि सहित प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाउनु परेको बताउछन् ।
दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ केही विषयहरु उठाएर व्यवसायीहरुले संघको कार्यालयमा तालाबन्दि गरेपछि समस्या आएको भन्दै तत्काल संघको बैठक बसेर छलफल गर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी शेखर पौडेलले संघको कार्यालयमा तालाबन्दि भएको र ज्ञापनपत्रको विषयमा दोलखा उद्योग बाणिज्य संघ र व्यवसायीहरु संघ छलफल भै रहेकोले सकेसम्म सहमतिमै अगाडी बढ्ने वातावरण बनाउन स्थानीय प्रशासनले पहल गरिरहेको बताए ।
फागुन १३ गते शनिवार २३ औ साधारणसभा तथा निर्वाचन गर्ने तयारीमा रहेको दोलखा उद्योग बाणिज्य संघमा नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ र दिनेश वस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।

सम्बन्धित समाचार