दोलखा/दोलखा जिल्लामा कोरोना संक्रमितको संख्यामा बृद्धि हुदै गएपछि स्थानिय तहहरुले संक्रमितको सुरक्षा र सहयोगको लागि बिभिन्न कार्यक्रमहरु घोषणा गरेका छन् ।
जिल्लाको भीमेश्वर नगरपालिकाले नगरभित्रका कोरोना संक्रमित विरामीहरुलाई पोषण भक्ता बापत प्रति विरामी दुई हजार रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । त्यसैगरी कोरोना संक्रमित विरामीलाई अन्यत्र उपचारको लागि लानुपर्ने अवस्थामा एम्बुलेन्स खर्च वापत आठ हजार रुपैया उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख भरतबहादुर केसीले बताउनु भयो ।
त्यसैगरी कोरोना संक्रमित विरामीको मृत्यु भएको अवस्थामा सामाजिक कार्य गर्न मृतकको परिवारलाई १५ हजार रुपैया उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख केसीले बताउनु भयो ।
जिल्लाको तामाकोसी गाँउपालिकाले कोरोना संक्रमितलाई आवश्यक पर्ने औषधि निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । कोरोना संक्रमित विरामीलाई आवश्यक पर्ने सबै प्रकारका औषधि घर घरमै पु¥याईने पालिका प्रमुख इश्वरचन्द्र पोखरेलले बताउनु भयो । कोरोना संक्रमित विरामीको लागि आवश्यक पर्ने भिटामिन सि, मल्टिभिटामिन, सिटामोल, खोकीको औषधि लगायतका औषधिहरु खरीद गरिसकिएको तामाकोसी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले बताउनु भयो ।
आपत्तकालिन अवस्थामा प्रयोग गर्न सदरमुकाम चरिकोट अस्पतालमा पाँच वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । चरिकोट अस्पताल सहित च्छो रोल्पा जनरल अस्पताल, सामुदायीक अस्पताल र गजेन्द्र फाउण्डेशनको एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले बताउनु भयो ।
त्यसैगरी सदरमुकाम चरिकोटमा रहेको लालिगुरास युवा क्लबले भीमेश्वर नगरपालिका वडा नम्बर ३, चरिकोट गुठि, दोलखा उद्योग बाणिज्य संघ, चरिकोट खानेपानी परिवार लगायतको सहयोगमा चरिकोट अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामी, विरामीको कुरुवा र स्वास्थ्यकर्मीहरुलाई जेठ १५ गतेसम्म खाना र नास्ताको व्यवस्था गरिरहेको लालिगुरास युवा क्लबका अध्यक्ष प्रविण श्रेष्ठले बताउनु भयो ।
बुधवार ३५ संक्रमित थपिए
दोलखामा बुधवार ३५ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । चरिकोट अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा एक सय २९ जनाको पिसिआर परिक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा भीमेश्वर नगरपालिकाका ६ जना महिला र ३ जना पुरुष गरी ९ जना, जिरी नगरपालिकाका २ जना महिला र ८ जना पुरुष गरी १० जना, शैलुङ गाउँपालिकामा ५ जना पुरुष र १ जना महिला गरी ६ जना, विगु गाँउपालिकामा १ जना पुरुष, गौरीशंकर गाँउपालिकामा ४ जना पुरुष, कालिञ्चोक गाउँपालिकामा १ जना पुरुष र ठेगाना नखुलेका अन्य ४ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।


			
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया दिनुहोस्