बागमतीमुख्य समाचारराजनितिसमाचार

दोलखामा पुनः मतदानको लागि चारसय सुरक्षाकर्मी परिचालन

दोलखा/एमालेको उजुरी पछि विहिवार मंसिर १५ गते पुनः मतदान हुन लागेको दोलखाको चार वटा मतदान केन्द्रको १० वटा बुथमा आवश्यक तयारी पुरा भएको दोलखाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनु भयो ।
गठबन्धन दलले जिल्लाको आठ वटा मतदान केन्द्रमा बुथ कब्जा गरी एकलौटी मत खसालेको आरोप सहित मंसिर ४ गते साँझनै नेकपा एमाले दोलखाले मुख्य निर्वाचन अधकृतको कार्यालयमा उजुरी गरेको थियो ।
एमालेको उजुरी पछि निर्वाचन आयोगले सहसचिवको नेतृत्वमा तीन सदसिय छानविन टोलि दोलखा पठाएको थियो । छानविन टोलिको प्रतिवेदन पछि निर्वाचन आयोगले मंसिर ११ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई १५ गते भित्र दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर २ को जनज्योती माध्यामिक विद्यालय मतदान केन्द्रको क र ख दुई वटा, वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रको क, ख र ग तीन वटा, वडा नम्बर ६ बैतेश्वर माध्यामिक विद्यालय मतदान केन्द्रको क, ख र ग तीन वटा तथा तामाकोशी गाँउपालिका वडा नम्बर ३ को हेल्थपोष्ट भवन जफे मतदान केन्द्रको क र ख दुई वटा गरी १० वटा बुथमा पुनः मतदान गर्न निर्देशन दिएको थियो ।
निर्वाचन आयोगको निर्देशन पछि मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले मंसिर १२ गते बैठक बसी मंसिर १५ गते विहिवार पुनः मतदान गर्ने निर्णय गरेको थियो ।
जिल्लाको चार वटा मतदान केन्द्रमा पुनः मतदान गर्न मतदान अधिकृत, सहायक मतदान अधिकृत र आवश्यक कर्मचारी गरी ८० जनालाई आवश्यकता अनुसार सबै मतदान केन्द्रमा पठाई सकिएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनु भयो । मतदानलाई शान्तिपुर्ण बनाउन र सबै मतदाताहरुलाई निर्भयता पूर्वक मतदान गर्ने वातावरण निर्माणको लागि चार सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताउनु भयो । पुन मतदान हुन लागेको चार वटा मतदान केन्द्रको १० वटा बुथमा आठ हजार पाँच सय १४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

सम्बन्धित समाचार