दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ मा पर्ने तामाङ गाँउ सोक्लामा रक क्लाम्विङ तथा हाईकिङ रुट सुरु गरिएको छ । साहसिक पर्यटनको लागि सोक्लाश्वरी पर्यटन विकास समाजले रक क्लाम्विङ तथा हाईकिङ रुट सञ्चालनको लागि गुरु योजना तयार गरेको समाजका अध्यक्ष अर्जुन पाख्रिनले बताउनु भयो ।
भीमेश्वर नगरपालिका वडा नम्बर २ को खेलाप, सोक्ला र चक्पासँग जोडिएको तीन वटा पहरामा मिनी रक क्लाम्विङ, एडभान्स र हाइ लेवलको रक क्लाम्विङ गर्न सकिने अन्तर्राष्ट्रिय गाइड छिरिङ जाङबु शेर्पाले बताउनु भयो । सोक्लाको भौगोलीक अवस्थिति र रकको कारण यो क्षेत्र रक क्लाम्विङ तथा हाईकिङ रुट सञ्चालनको लागि उपयुक्त रहेको र यहाँ विदेशीहरुले विशेष रुपमा रमाईलो गर्न सक्ने शेर्पाले बताउनु भयो ।
सोक्ला क्षेत्रकै गुमडाँडाको डिलबाट प्याराग्लाइडिङ गरेर तामाकोशी किनारामा ल्यान्डिङ वेसक्याम्प बनाउने, एग्रो टुरिजमसँगै जिप लाइन र बञ्जी जम्प निर्माण गरेर विदेशी पाहुन भित्र्याउन सकिने शेर्पाको भनाई छ ।
भीमेश्वर नगरका विपत व्यवस्थापन टिमले सोक्लामा रक क्लाविङको परिक्षण गरेको थियो । गाइड तथा प्रशिक्षक थिर बहादुर खड्का र शिव खड्काको टिमले सफलता पूर्वक रक क्लाविङ परिक्षण गरेको समाजका अध्यक्ष पाख्रिनले बताउनु भयो । फ्रान्सका १५ जनाको टिमले समेत सोक्ला गाउँको रक क्लाविङ क्षेत्रको भ्रमण गरेको र यो क्षेत्रको पर्यटन प्रवद्धनको लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष पाख्रिन बताउनु हुन्छ ।
फ्रेन्च नागरिकहरु दोलखा, दुङगल, गंङरास, डिलढुंगा, चक्पा हुँदै सोक्ला पुगेका थिए । उनीहरुले सोक्लामा बोम्बो (झाँक्रि) संस्कृतिको अवलोकन गरेको र रक क्लाविङ रुटको भ्रमण गरेको समाजका अध्यक्ष पाख्रिनले बताउनु भयो ।
भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ सोक्ला गाँउमा रक क्लाम्विङ तथा हाईकिङ रुट सञ्चालनको लागि वडाको तर्फबाट सक्दा सहयोग हुने बताउनु हुन्छ । यो क्षेत्र पर्यटको लागि महत्वपूर्ण छ त्यसैले यहाँ पर्यटकलाई आकर्षित गर्न बिभिन्न काम गर्नुपर्छ – वडा अध्यक्ष श्रेष्ठले भन्नु भयो ।
प्रतिक्रिया दिनुहोस्