दोलखा/मंगलवार दोलखा बैतेश्वर– ७ माझ बुस्तीकी ९५ बर्षिय जेष्ठ नागरिक अशली तमाङको मुहारमा खुशी देखियो । एक साता अघि शरीरमा लगाएको पोते सहितको गर गहना कसैले लुटेर लगेपछि दुखी बन्नु भएको तमाङलाई घरमै पुगेर प्रहरीले ती गर गहनाहरु फिर्ता दिएपछि उहाँको मुहारमा खुशी देखिएको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगा पौडेलले मंगलवार जेष्ठ नागरिक अशली तमाङको घरमै पुगेर उहाँलाई ती गर गहनाहरु दिनु भएको थियो । हराएको आफ्नो गरगहना पाएपछि उहाँले आफ्नो नाती मानकाजी तमाङलाई गहना लुट्दा चुडिएको आफ्नो कानको लोतीको उपचार गर्न अस्पताल लान भन्नु भएको थियो ।
गत जेठ ३० गते बैतेश्वर गाउँपालिका वडा नम्बर– ७ माझ बुस्तीकी ९५ वर्षीया जेष्ठ नागरिक अशली तामाङ घरमा एक्लै बसिरहनुभएको बेला दुई अपरिचित व्यक्तिले उहाँको कान समेत चुडालेर दुई तोलाको रिङ र गलामा लगाएको एक तोलाको सुनको तिलहरी लुटेर फरार भएका थिए ।
आफ्नो घरमा पालिएको पशु बिक्रि गरेर बनाएको गर गहना लुटिएपछि दुखिबन्नु भएको जेष्ठ नागरिक अशली तमाङले चुडिएको लोतीको उपचार समेत गर्न मान्नु भएको थिएन । आफुहरुले अर्को गहना बनाईदिन्छु भन्दा समेत कानको उपचार गर्न र अर्को गहना लगाउन उहाँले नमानेको नाती मानकाजी तमाङले बताउनु भयो । गहना भेटिएपछि भने खुशी भएर उहाँ आफैले कानको उपचार गर्न लानु भनेको नाती मानकाजीले बताउनु भयो ।
जेष्ठ नागरिक अशली तमाङको शरीरबाट एक साता अघि लुटिएको पोतेको दाना सोमवार तमाङको घरबाट ७० मीटर माथि बारीमा छरिएको अवस्थमा भेटिएको र सुनको गहना बारी नजिकै मन्दिरमा प्लास्टिकले पोको पारेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । गहना लुटिए लगतै प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको र उनीहरुको बयानकै आधारमा उक्त गर गहना भेटिएको प्रहरी नायव उपरीक्षक गंगा पौडेलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्