बागमतीमुख्य समाचारयो पनिराजनितिसमाचार

स्वतन्त्र उम्मेद्वारनै एमालेको आधिकारी उम्मेद्वार

दोलखा/नेपाली कांग्रेस दोलखाका पूर्व उपसभापति एवं बैतेश्वर गाँउपालिकामा उपाध्यक्षको लागि स्वतन्त्र उम्मेद्वारी दिनु भएका छविलाल मोक्तान तमाङ शुक्रवार नेकपा एमाले प्रवेश गर्नु भएको छ । पार्टीमा गुण्डागर्दी मौलाएको र बौद्धिक बर्ग नभेटेकोले झण्डै ३४ बर्षको सम्बन्ध अन्त्य गर्दै एमाले प्रवेश गर्नु परेको तमाङको भनाई छ ।
दोलखा कांग्रेसका पूर्व उपसभापति छविलाल मोक्तान तमाङलाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री पार्वत गुरुङले एमालेमा स्वागत गर्नु भएको थियो । तमाङ एमाले प्रवेश गरेपछि एमालेले बैतेश्वर गाँउपालिकामा पार्टीको तर्फबाट उपाध्यक्षमा उम्मेद्वारी दिनु भएको नविना लामाको उम्मेद्वारी फिर्ता लिएको छ । बैतेश्वरको उपाध्यक्षमा मोक्ताननै एमालेको आधिकारीक उम्मेद्वार बन्नु भएको छ ।
बैतेश्वरको उपाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिनु भएका छविलाल मोक्तान तमाङलाई पार्टीले सघाउने एमाले दोलखाका उपाध्यक्ष नरबहादुर श्रेष्ठले बताउनु भएको छ । छविलाल मोक्तान तमाङ एमाले प्रवेश गरीसक्नु भएकोले उहाँ हाम्रै उम्मेद्वार हो, प्राविधिक रुपमामात्र स्वतन्त्र उम्मेद्वारलाई सहयोग गरेजस्तो हुने हो – अध्यक्ष श्रेष्ठले भन्नु भयो ।
बैतेश्वर गाँउपालिकामा पाँच दलिय गठबन्धनको सहमति अनुसार अध्यक्ष नेपाली कांग्रेसबाट र उपाध्यक्ष नेकपा माओवादी केन्द्रबाट हुने भनिए पनि नेपाली कांग्रेसले अध्यक्षमा छवि लामा र उपाध्यक्षमा कल्पना उप्रेतीलाई उम्मेद्वार बनाएको छ । माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले गठबन्धन बनाएर अध्यक्षमा नेकपा माओवादी केन्द्रको लक्ष्मण खड्का र उपाध्यक्षमा नेकपा एकिकृत समाजवादीको कल्याण दहाललाई उम्मेद्वार बनाएको छ । नेकपा एमालेले माधव घिमिरेलाई अध्यक्षको उम्मेद्वार बनाएको छ ।
यसै बीच नेपाली कांग्रेस दोलखाले बैतेश्वर गाउँपालिका वडा नम्बर २ घर भएका पार्टीको पूर्व जिल्ला उपसभापति छविलाल मोक्तान तमाङ, मेलुङ गाँउपालिका वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष छत्रबहादुर तमाङ, कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ का कांग्रेस वडा सभापति केदार कार्की, कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ का क्षेत्रीय प्रतिनिधि यम बहादुर कार्की तथा कालिञ्चोक गाउँपालिका वडा नम्बर १ का कांग्रेस वडा सभापति सहदेव खड्कालाई कार्वाहि गरेको छ ।
स्थानिय निर्वाचनको क्रममा अन्य पार्टीलाई सहयोग पुग्ने गतिविधि गरेकोले पार्टीमा भविष्यमा समेत अयोग्य ठहरीने गरी कार्वाहि गरीएको नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले बताउनु भयो ।

सम्बन्धित समाचार