अर्थ र ब्यापारबागमतीमुख्य समाचारसमाचार

संडक संघर्ष समितिमा जनप्रतिनिधिहरु पनि सहभागि

दोलखा/मूडे– चरिकोट सडकमा भएको ढिलासुस्ति विरुद्ध दोलखाका स्थानियले सुरु गरेको संघर्षमा निर्वाचित जनप्रतिनिधिहरुले पनि साथ दिएका छन् । सोमवार मूडे– चरिकोट सडक खण्ड रहेको भीमेश्वर नगरपालिकाको पाँच वटा वडाका अध्यक्षहरुले संघर्षमा एक्यवद्धता जनाउदै संघर्ष समितिको सदस्य भएका छन् ।
सोमवार भीमेश्वर नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयमा भएको सर्वदलिय÷सर्वपक्षिय भेलाले चिरञ्जीवी मास्केको संयोजकत्वमा रहेको संघर्ष समितिलाई विस्तार गर्दै वडा नम्बर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी, वडा नम्बर ६ का वडा अध्यक्ष नविन लामा, वडा नम्बर ७ का वडा अध्यक्ष कैलाश श्रेष्ठ, वडा नम्बर ८ का वडा अध्यक्ष नकुल केसी, वडा नम्बर ९ का वडा अध्यक्ष चित्रबहादुर भुजेल, वडामा रहेको राजनीतिक दलका वडा कमिटीका प्रमुख, बिभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानियको सहभागिता रहेको ५ सय १ सदसिय समिति निर्माण गरेको छ ।
भेलाले आगामी मंसिर ४ गते दोलखाबाट प्रत्यक्ष निर्वाचित तथा समानुपातिकमा रहेको संघिय एवं प्रदेश सांसदहरुसंग सडकको दुर्दशाको विषयमा छलफल गर्ने, मंसिर ५ गते वडा तहमा समेत संघर्ष समिति निर्माण गर्ने र मंसिर ६ गते वडा तहमा गठन भएको संघर्ष समितिको समेत सहभागितामा बैठक बसि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने मूल संघर्ष समितिका सहसंयोजक रमेश खतिवडाले बताए । समितिले सोमवारनै संघर्षको कार्यक्रमबारे प्रमुख जिल्ला अधिकारी टेकराज निरौला र आयोजना प्रमुखलाई जानकारी गराएको खतिवडाले बताए ।
यस अघि संघष समितिले कार्तिक २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, मन्त्रालयका सचिव रविन्द्र नाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुन जंग थापाको फोटो सहितको सरकार…..मूडे– चरिकोट सडक कैले बनाउछस् ? हाम्रो विचल्ली कैलेसम्म टुलुटुलु हेर्छस ? लेखिएको पोष्टर सार्वजनिक यातायातका साधनमा टाँसेर विरोध गरेको र कार्तिक २८ गते भीमेश्वर नगरपालिका वडा नम्बर २ मा रहेको आयोजनाको कार्यालयमा तालाबन्दि गरेको संघर्ष समितिको सचिव गोकर्ण भण्डारीले बताए । तालाबन्दिको क्रममा संघर्ष समितिको संयोजक चिरञ्जीवी मास्के, सहसंयोजक रमेश खतिवडा, सचिव गोकर्ण भण्डारी तथा सदस्यहरु श्याम खतिवडा, श्रृजन घिमिरे, अर्जुन कार्की र राजन वस्नेतलाई प्रहरीले नियन्त्रणमा लिई केहिसमय पछि रिहा गरेको थियो ।
एक्जिम बैङ्क अफ इन्डियाको सहयोगमा २०७२ सालमा स्तर उन्नतिको काम सुरु भएको सडक निर्माण दुई बर्ष भित्र सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख गरिएको थियो । तर ६ बर्षमा पनि काम सम्पन्न नभएपछि स्थानियले विगत केहि बर्ष देखि संघर्ष गर्दै आएका छन् । स्थानियले लामोसमय देखि सडक स्तरउन्नतीको काम तत्काल सक्न दवाव दिदै आएपनि सुनवाई नभएकोले यो पटक जनप्रतिनिधि समेत संघर्षमा सहभागि भएको र अब काम नसकेसम्म संघर्ष जारी रहने भीमेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नविन लामाले बताए ।

सम्बन्धित समाचार