अर्थ र ब्यापारबागमतीमुख्य समाचारसमाचार

मन्त्रीको फोटो सार्वजनिक सवारी साधनमा ।

दोलखा/दोलखाका स्थानियले मूडे– चरिकोट सडकमा भएको ढिलासुस्ति विरुद्ध भौतिक पुर्वाधार मन्त्री, सचिव र सडक विभागका महानिर्देशकको फोटो सार्वजनिक सवारी साधनमा टाँसेर विरोध गरेका छन् ।
दुई बर्षमा स्तर उन्नतीको काम सम्पन्न गर्नु पर्ने मूडे– चरिकोट ३० किलोमिटर सडक ६ बर्षमा समेत अलपत्र अवस्थामै रहेपछि स्थानियले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, मन्त्रालयका सचिव रविन्द्र नाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुन जंग थापाको फोटो सहितको सरकार…..मूडे– चरिकोट सडक कैले बनाउछस् ? हाम्रो विचल्ली कैलेसम्म टुलुटुलु हेर्छस ? लेखिएको पोष्टर सार्वजनिक यातायातका साधनमा टाँसेर विरोध गरेका हुन् ।
भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैबारीका युवाहरुको समेत सहभागितामा मकैबारीमा बसेर दोलखाबाट काठमाडौँ जाने तथा काठमाडौँबाट दोलखा र रामेछापका बिभिन्न ठाँउमा जाने सार्वजनिक सवारीका साधनमा फोटो सहितको पोष्टर टाँसिएको संघर्ष समितिका सहसंयोजक रमेश खतिवडाले बताए ।
असार– साउन अघिनै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता सहित काम सुरु नभएसम्म आन्दोलन जारी रहने संघर्ष समितिका सचिव गोकर्ण भण्डारीले बताए । संघर्ष समितिले यस अघि पनि ठेकेदारको फोटो सहितको पोष्टर सार्वजनिक यातायातको साधनमा टाँस्ने, शंख जुलुस, एक रुपैया सङ्कलन, साङ्लो जुलुश, आयोजनाको कार्यालयमा तालाबन्दि जस्ता आन्दोलनको कार्यक्रम गरेको थियो ।
एक्जिम बैङ्क अफ इन्डियाको सहयोगमा २०७२ सालमा स्तर उन्नतिको काम सुरु भएको सडक निर्माण दुई बर्ष भित्र सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख गरिएको थियो । दोलखालीको आन्दोलनकै कारण खाडिचौर– मूडे २५ किलोमिटर सडकको स्तर उन्नतिको काम भने केहि समय अघि सम्पन्न भएको छ ।
मिटर ब्याजिसंग ठूलो रकम ऋण लिएको ठेकेदार उनीहरुको ऋण तिर्न नसक्ने अवस्था भएपछि कामनै बन्द गरेर भुमिगत हुनुपरेकोले मूडे– चरिकोट सडकको काम अघि बढ्न नसकेको निर्माण व्यवसायीहरुको भनाई छ । सरकारले मिटर ब्याजिको खोजि गरी आवश्यक कार्वाहि गर्ने हो भने सडक निर्माण सहज हुने उनीहरु बताउछन् ।

सम्बन्धित समाचार